आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिका–३, माथिल्लो पाटुस्थित पबनेश्वर महादेव मन्दिर परिसरमा रहेको पुरानो ईनारलाई सरसफाइ गरी खानेपानीको प्रयोगमा ल्याइएको छ ।
बिगत केही समयदेखि माथिल्लो पाटुमा खानेपानीको गम्भीर समस्या भएपछि स्थानीय अगुवा तथा समाजसेवीहरूको एक समूहले शुक्रबार नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीलाई भेटेर समस्या समाधानका लागि ध्यानाकर्षण गराएका थिए । स्थानीयको आग्रह सुनेपछि नगर प्रमुख क्षेत्रीले नगरपालिकाको बजेटबाट मोटर र २ इञ्चको करिब २ सय ८० मिटर पाइप खरिद गरी तत्काल समस्या समाधान गर्न निर्देशन दिएका थिए ।
त्यसैको परिणामस्वरूप शनिबार पबनेश्वर महादेव मन्दिरको पुरानो ईनारमा मोटर जडान गरी पाइपलाइनमार्फत खानेपानीको ट्याङ्कीमा पानी खसाल्ने कार्यको उद्घाटन नगर प्रमुख क्षेत्री स्वयंले गरेका हुन् । उनले सो अवसरमा खानेपानी ट्याङ्कीको समेत अवलोकन गरेका थिए ।
स्थानीय समाजसेवी पशुराम रायमाझीका अनुसार अब बिहान र बेलुका सहजै धाराबाट खानेपानी उपलब्ध हुने भएको छ । “हाल माथिल्लो पाटुमा करिब २ सय भन्दा बढी खानेपानीका उपभोक्ता रहेका छन् । यो व्यवस्था लागू भएपछि यहाँको दीर्घकालीन समस्या समाधानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ,” रायमाझीले भने ।
