आज्ञा खबर
बर्दिवास
बर्दिवास साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालय परिसर। जूनको पहिलो साता। बिहानको सूर्यको मधुर किरण पानीको ट्यांकीमा चम्किरहेको थियो। त्यही घामको उज्यालोमा, हातमा सानो बिरुवा लिएर उभिएका थिए बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्री। गम्भीर मुद्रामा उनले भने, “हामीले आज रोपेको यो बिरुवा हाम्रा सन्ततिहरूको भविष्य हो। पानी जोगाउने हो भने जंगल जोगाउनु पर्छ।”
यही दृश्यबाट औपचारिक रूपमा सुरुवात भएको थियो ‘खानेपानी मुहानको संरक्षणका लागि सप्ताहव्यापी वृक्षारोपण अभियान’ विश्व वातावरण दिवस (जुन ५) को सन्देशलाई व्यवहारमा उतार्ने उद्देश्यले बर्दिवास साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सुरु गरेको थियो।
यो अभियान एक दिनको कर्म होइन—यो दीर्घकालीन सोचको बीजारोपण हो।
बर्दिवास नगरका दक्षिण क्षेत्रहरूमा रहेका पानीका ट्युबेल,ईनार र डिपबोरीङहरु दिनप्रतिदिन सुक्दै गइरहेका छन्। कहिले यिनै खानेपानीका संरचनाहरु स्थानीय बासिन्दाको जीवनरेखा थिए, तर आज ती नै संकटमा परेका छन्। भू–उपयोगको अनियन्त्रित विस्तार, सडक निर्माणको चाप, जंगलको अतिक्रमण र जलवायु परिवर्तनको प्रभावले गर्दा पानीको सतह खस्कँदै गएको छ।
संस्थाका व्यवस्थापक भवनाथ खतिवडा चिन्तित छन्। उनी भन्छन्, “हामीले खानेपानीका मुहानहरूलाई जोगाउन सक्दैनौं भने आगामी पुस्तालाई पानीको भयंकर अभाव हुनेछ।” उनले यस वृक्षारोपण अभियानलाई मुहान संरक्षणसँग प्रत्यक्ष रूपमा जोडिएको बताउँछन्। उनका अनुसार, अभियानअन्तर्गत २५ सयभन्दा बढी बिरुवा रोपिनेछ, ती पनि पानी जोगाउन सहयोगी हुने प्रजातिका।
कार्यक्रमको उद्घाटन नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले गरे। सानो बिरुवा हातमा लिएर उनले रोपेको त्यो क्षण, केवल औपचारिकता थिएन, त्यो एउटा सन्देश थियो—नेतृत्वको नमूना। उनी भन्छन्, “शहरीकरणसँगै जलस्रोतहरू संकटमा छन्। हामीले समयमै हस्तक्षेप गर्न सकेनौं भने स्थिति भयावह हुन सक्छ। यस्तो अभियानले दीर्घकालीन समाधानको बाटो देखाउँछ।”
उनको साथमा वडा अध्यक्ष विजय कुमार महतो, सामाजिक अभियन्ता पोषण थापा, उपभोक्ता समिति सदस्यहरू पनि थिए। सबैले बृक्षा रोपनमा सक्रिय सहभागिता जनाए। कार्यालय परिसरमै वातावरणीय संकल्पको सुरुवात भएको त्यो क्षण बर्दिवासका लागि ऐतिहासिक बन्यो।
सप्ताहव्यापी अभियान एकै ठाउँमा सीमित छैन। यसको योजना बिस्तृत छ। दोस्रो दिन, शुक्रवार, गौरीवास क्षेत्रमा अवस्थित मुहानमा वृक्षारोपण गरिनेछ। तेस्रो दिन, शनिवार, कालापानीको सुनखरी मुहानमा बिरुवा रोप्ने कार्य सम्पन्न हुने छ। आईतवार कालापानीकै अन्य मुहानहरूमा रोपाइँ गरिनेछ।
बाँकी दिनहरूमा नगरका विभिन्न वडाहरूमा फैलिएका अन्य पानीका स्रोतहरूमा पनि वृक्षारोपण गरिनेछ। कार्यक्रममा महिला, युवा, उपभोक्ता समूह,समाजका प्रतिनिधिहरू, सबै तहका नागरिकहरूको सहभागिता सुनिश्चित गरिएको छ।
संस्थाका सदस्य खुब बहादुर बरुवाल भन्छन्, “हामीले आफैं लागेर मुहान वरिपरि बिरुवा रोप्ने योजना बनाएका छौं। यो हाम्रो कर्तव्य हो। हामी रोपेर मात्रै होइन, संरक्षण र निगरानीसमेत गर्नेछौं।”
उनको भनाइले एउटा तथ्य उजागर गर्छ—सिर्जना र संरक्षण स्थानीय तहमै सम्भव हुन्छ, जब जनताले आफ्नै ढुकढुकीबाट काम गर्छन्। यसैले संस्थाले रोपिएका प्रत्येक स्थलमा स्थायी संरक्षणमा उपभोक्ता समितिका प्रतिनिधिहरू रहनेछन्।
रोपिने बिरुवाहरूबारे पनि गहन सोच गरिएको छ। स्थानीय माटो र जलवायु अनुसार मिल्ने प्रजातिका बिरुवाहरू छनोट गरिएको छ। जल–संरक्षणमा योगदान पु¥याउने जातहरूलाई प्राथमिकता दिइएको छ—जसले भूजल पुनर्भरणमा मद्दत गर्छ, माटोको अपरदन रोक्छ, र पानीको स्रोत वरिपरि हरियाली कायम राख्छ।
संस्थाका अध्यक्ष भुलन बहादुर शेन भन्छन्, “जहाँ–जहाँ वृक्षारोपण गर्छाै, त्यहाँ माटोको संरचना, पानीको बहाव, र मानव गतिविधिको असरसमेत ध्यानमा राखिएको छ।” उनी थप्छन्, “यो केवल वृक्षारोपण होइन, वातावरणीय पूर्वाधार निर्माण हो।”
नगरप्रमुख क्षेत्रीको नेतृत्वमा अब ‘हरियो बर्दिवास’ अभियान अघि बढाइँदैछ। यो वृक्षारोपण सप्ताह त्यस अभियानको पूर्वाभ्यास जस्तो हो। नगरपालिकाले आगामी आर्थिक वर्षभर विभिन्न स्थानमा वृक्षारोपण, संरक्षण, वातावरणीय शिक्षा र जनसचेतना फैलाउने कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।
“हामी अब केवल पानीको ट्यांकी निर्माणमा सीमित छैनौं,” मेयर क्षेत्री भन्छन्, “अब हाम्रो प्राथमिकता पानी आउने स्रोतको सुरक्षा हो। नदीनाला, मुहान, रुख, वन—यी सबै पानीका आधार हुन्।”
यो अभियानको मुख्य सन्देश नै यही हो—‘खानेपानी केवल पाइपको सवाल होइन, त्यो प्रकृतिसँग जोडिएको विषय हो।’ पाइपमा पानी आएन भने पाइपको उपयोग छैन। त्यसैले पाइपमा पानी आउने स्रोतको संरक्षण अनिवार्य छ। यो चेतना विस्तार गर्दै संस्थाले समाजमा नयाँ दृष्टिकोणको विकास गरिरहेको छ।
बर्दिवासको यो प्रयास अन्य नगरपालिका र उपमहानगरपालिकाका लागि पनि अनुकरणीय हुनसक्छ। योजना, कार्यान्वयन, सहभागिता र दीर्घकालीन सोचको समिश्रणले यो अभियानलाई विशेष बनाएको छ। जनताले विश्वास गर्न सक्ने नेतृत्व, संस्थागत तत्परता, र स्थानीय समुदायको योगदान—यी सबै पक्ष मिलेपछि हरियाली सम्भव हुन्छ।
आज रोपिएका ती साना बिरुवाहरू केही वर्षमा जब ठूला रुखमा परिणत हुन्छन्, तब तिनको हाँगाबाट छायाँ फैलिनेछ, जराबाट पानी फूट्नेछ। त्यो पानी पाइप हुँदै हाम्रो घरको धारामा आउनेछ। तर त्यो दिन आउनुका लागि आजको रोपाइँ, आजको हेरचाह र संरक्षण अत्यावश्यक छ।
संस्थाका व्यवस्थापक खतिवडा भन्छन्, “हामीले बिरुवा रोप्दै जाने छौ, अब त्यसलाई हुर्काउने जिम्मेवारी पनि लिन्छौं।” उनको यो भनाइ केवल वाक्य होइन, यो प्रतिबद्धता हो।
पानी जीवन हो भन्ने कुरा केवल नारा बनेर सीमित हुन सक्दैन। त्यो जीवनको निरन्तरताको सुनिश्चितता अहिलेको काम हो। बर्दिवास साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले उठाएको यो कदम त्यसैको मूर्त रुप हो। जहाँ जीवनको मुहान धमिलो हुँदै थियो, त्यहाँ अब हरियालीको बीउ रोपिएको छ।
यो अभियानले देखाएको बाटो स्पष्ट छ—स्रोत जोगाएर मात्र सेवा सम्भव हुन्छ र सेवा भनेको केवल सुविधा होइन, त्यो भावनात्मक सम्बन्ध हो—प्रकृतिसँग, जीवनसँग, र भविष्यसँग।
बर्दिवासको यो हरियाली यात्रा अब थालिएको छ। अब यो यात्रा रोकिएला जस्तो देखिँदैन। हिजोको बिरुवा आज रुख हुन्छ, र रुख बन्नेछ जीवन। यही हो बर्दिवासको पानी बचाउने यात्रा। यही हो भविष्यलाई हरियाली सुम्पने सपना।