निरुता चौधरी
गौशाला,
महोत्तरीमा भाइलाई ठग्न दाइले नै लुटपाटको नाटक गरेका एकजना पक्राउ परेका छन् ।
तीनजनाको समूहले छुरा प्रहार गरि पाँच लाख लुटेको भनी भाईलाई ठग्न प्रहरीमा झुटो जानकारी दिने जिल्लाको रामगोपालपुर नगरपालिका–७ बस्ने ३६ वर्षीय अरुण चौधरीलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
शुक्रवार साँझ करिब साढे ४ बजेको समयमा गौशला नगरपालिका–२ रेडक्रस नजिक गौशाला–सम्सी सडक खण्डमा औरहीबाट निगौलचौक हुँदै सम्सीतर्फ जाँदै गरेको प्रदेश २(०२(००४ प ३३४७ नम्बरको मोटरसाईकलमा सवार चौधरीलाई नम्बर नखूलेको मोटरसाईकलमा आएका अपरिचित ३ जना मानिसहरुले मोटरसाईकलले बाटो छेकी छुरा प्रहार गरी घाईते बनाएर रुपैयाँ लुटपाट गरेको चौधरीले बताएका थिए।
यस घटनामा ईलाका प्रहरी कार्यालय गौशालाबाट सुक्ष्म अनुसन्धान गर्दा चौधरीले आफ्नो भाइ अनिल चौधरीलाई ठग्न लुटपाटको नाटक गरेको खुलेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।
प्रहरीले सिसिटिभी फुटेजहरु, वारदात स्थानको सडक हुँदै आवतजावत गर्ने स्थानीयहरुसंगको सोधपुछ र पीडित भनिएका अरुण चौधरीसँग सोधपुछ भाई अनिल चौधरीले आफ्नो खातमा जम्मा गर्न भनि दाई अरुण चौधरीलाई दिएको ५ लाख हिनामिना गर्न लुटपाटको नाटक गरेको खुलेको हो।
चौधरीलाई भाइले ५ लाख जम्म गर्न दिएकोमा खातामा जम्मा नगरी हिनामिना गर्ने उदेश्यले सरपल्लोको चाँदनी देबीलाई १ लाख ५६ हजार सापटी फिर्ता दिएको, ४९ हजार मनि ट्रान्सफरमा काम चलाउदै गर्नु भनी श्रीमतीलाई छाडेको र बाँकी २ लाख ९५ हजार मनि ट्रान्सफरको फण्डमा जम्मा गरेको खुलेको प्रवक्ता विष्टले बताए।
प्रहरीले लुटिएको भनिएको कालो रंगको झोला घटनास्थलको करिब २ सय मिटर उत्तर तर्फरहेको कलर्भट मुनि लुकाईएको अवस्थामा फेला पारेको उनले बताए।
भाइलाई ठग्न तथा घटनालाई भ्रमात्मक बनाउन आफैले आफ्नो बाँया तिघ्रामा छुराले प्रहार गरी चोट बनाई लगाएको जिन्सको पाईन्ट समेत च्यातेकोचौधरीले स्वीकार गरेकाले उनलाई ईलाका प्रहरी कार्यालय गौशालामा राखी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।





































