विद्यालयमा सबै कर्मचारी एकै परिवारका

[sharethis-inline-buttons]

आज्ञा खबर
गौर नगरपालिका–४ स्थित टिकुलिया गाउँको पूर्वपट्टि खेतमा जस्ताले छाएको विद्यालय भवन छ । जीर्ण भवनको पछाडिपट्टि ८ र अगाडि ४ वटा झ्यालमा फलामको एंगल लगाइएको छ । तर, पल्ला छैन । सबै खुल्ला छन् । अगाडि चारवटा जीर्ण ढोका छन् ।

कक्षाकोठा हेर्दा जोकोहीलाई विद्यालय हो भन्ने लाग्दैन । विद्यालयमा बुबा व्यवस्थापन समिति अध्यक्ष, छोरा कार्यालय सहायक, बुहारी प्रधानाध्यापक, नातिनी राहत शिक्षिका, अर्का बुहारी बाल शिक्षिका भएर सञ्चालन गर्दै आएका छन् ।
०६३ सालमा स्थापना भएको विद्यालय भनेर बोर्ड झुन्ड्याइएको छ । कक्षा ६ सम्म पढाइ हुने प्राथमिक विद्यालय टिकुलियामा अहिले ४ देखि १२ जनासम्म विद्यार्थी आउँछन् । कक्षा १ मा ६ जनामात्र भर्ना छन् । कक्षा २ मा चार, ३ मा १२, ४ मा १३, ५ मा १२ र कक्षा ६ मा ३ जना विद्यार्थी भर्ना छन् । बाल विकास कक्षामा ४ जना छन् । १५ वर्षदेखि सञ्चालित विद्यालयको भौतिक अवस्था दयनीय छ । गौरका शिक्षा शाखा प्रमुख विनयलाल दासले नाम मात्रको विद्यालयलाई स्पष्टीकरण सोधिएको बताए । ‘एउटै परिवारका सदस्य मिलेर विद्यालय चलाउँदै आएका रहेछन् । अख्तियारले समेत छानबिनका लागि पत्र पठाएको छ,’ उनले भने, ‘हामी आन्तरिक अनुसन्धानमा लागेका छौं । चाँडै नै यथार्थ बाहिर आउँछ ।’

दासका अनुसार व्यवस्थापन समिति अध्यक्षमा रामेश्वर यादव, प्रधानाध्यापक उनकी बुहारी सावित्री, बालविकास शिक्षिकामा अर्की बुहारी जयमाला यादव, राहत शिक्षिकामा नातिनी निक्की यादव र कार्यालय सहयोगीमा छोरा अशोक यादव छन् । अशोक प्रधानाध्यापक सावित्रीका श्रीमान् हुन् । यादवको राजनीतिक पहुँचका कारण स्थानीयले खुलेर विरोध गर्न नसकेको स्थानीय ओमकुमार साहले बताए । ‘विद्यालयको हालत बिजोग छ । बालबालिका पढ्ने कक्षाकोठा खत्तम छ,’ उनले भने, ‘नाममात्रका यस्ता विद्यालय अन्यत्र मर्ज गर्नुपर्छ । यसले सिंगो नगरपालिकाकै बेइज्जत गरेको छ ।’

सदरमुकाममै नाममात्रको विद्यालय सञ्चालनमा रहेको जानकारी पाएपछि केही दिनअघि गौरका प्रमुख शम्भु साहसहितको टोली टिकुलिया पुगेको थियो । विद्यालयमा बालविकासदेखि कक्षा ६ सम्मका २४ जना विद्यार्थीलाई एउटै कोठामा राखेर पढाइरहेको पाइएको थियो । विद्यालयमा कोही शिक्षक थिएनन् । कार्यालय सहयोगी अशोकमात्रै थिए । उनी विद्यार्थीको बीचमा बसेका थिए । कार्यालय सहयोगी अशोकले कहिलेकाहीं पढाउने गरेको विद्यार्थीले गुनासो पोखे । ‘एकै परिवारका सदस्यले सञ्चालन गरेको विद्यालयको अवस्था दुःखलाग्दो रहेछ । नाममात्रको विद्यालय बन्द गर्ने प्रक्रियामा लागेको छु,’ नगर प्रमुख साहले भने, ‘विद्यालयमा अहिलेसम्म के–कति बजेट आयो । दिवाखाजामा कति रकम गयो भन्ने शिक्षा शाखालाई यथार्थ विवरण लिन भनेको छु ।’ नगरले प्रधानाध्यापक सावित्रीसित स्पष्टीकरण सोधे पनि अहिलेसम्म जवाफ दिएकी छैनन् ।

आधारभूत विद्यालयको बिजोग

चन्द्रपुर नगरपालिकामा पनि अधिकांश आधारभूत विद्यालयको अवस्था नाजुक छ । विद्यालयमा विद्यार्थीको संख्या धेरै देखाइए पनि आधाजसो मात्रै पढ्न आउँछन् । चन्द्रपुर–६ स्थित मोथियाही, बेतौना, फतुवा बिजयपुर नगरपालिकाको गम्हरिया टोलमा रहेको दलित प्राविको अवस्था दयनीय छ । कतिपय विद्यालयमा बालबालिका भुइँमै बोरा ओछ्याएर पढ्न बाध्य छन् । शिक्षा विकास तथा समन्वय इकाइ गौरका प्रमुख रामविनय सिंहले भौतिक संरचनाको अभावले जिल्लाभरिका आधारभूत विद्यालयको अवस्था दयनीय बनेको बताए ।

‘जिल्लाका १८ वटा स्थानीय तहमा झन्डै ४ सय हाराहारी आधारभूत विद्यालय छन् । यी सबैको भवन, भौतिक संरचना पर्याप्त छैनन्,’ उनले भने, ‘नगरपालिकाले बजेट विनियोजन गरेर विद्यालयलाई राम्रो बनाउनुपर्ने हो । तर त्यसो गरेको पाइएको छैन ।’ इकाइ प्रमुख सिंहका अनुसार फतुवाविजयपुर–७ मा रहेको रामबहादुर गृसनन्दन आधारभूत विद्यालय नामको मात्र छ । यहाँ विद्यार्थी संख्या न्यून छ । शिक्षक एकजना पनि दरबन्दी छैन् । विद्यालयलाई अन्यत्र मर्ज गर्ने भनिए पनि राजनीतिक दबाबका कारण नसकिएको उनले बताए । उक्त विद्यालयको पनि अख्तियारले छानबिन गरेको छ ।

चन्द्रपुर–१० स्थित पडहरियाको जनप्रिय आधारभूत विद्यालयको अवस्था पनि उस्तै छ । विद्यालयमा कक्षा २, ३, ४ र ५ का विद्यार्थी एउटै कोठामा राखेर पढाइन्छ । कक्षा १ देखि ५ सम्म पढाइ हुने विद्यालयमा विद्यार्थी भर्ना संख्या न्यून छ । अहिले सख्या बढाउन भर्ना अभियानमा शिक्षकहरू लागेका छन् । शिक्षक, शिक्षिका तीन जना छन् । विद्यालयमा कक्षा कोठा र डेक्सबेन्चको अभाव छ । सरकारी विद्यालयहरू स्थानीय तहको मातहतमा गए पनि सक्षम र भरपर्दो हुन सकेको छैन । अधिकांश स्थानीय तहका आधारभूत विद्यालयमा भौतिक संरचनाको अभाव छ । भवन भए पनि कक्षाकोठा, डेक्स, बेन्च गतिला छैनन् । केहीमा शिक्षकको पनि अभाव छ । कान्तिपुरबाट साभार