एजेन्सी –
विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले फुटबलको इतिहासमा पहिलोपटक पुरुष विश्वकपको जिम्मेवारी महिला रेफ्रीलाई पनि दिने घोषणा गरेको छ । फिफा विश्वकप कतार २०२२ यसैवर्षको नोभेम्वर-डिसेम्वरमा हुँदैछ । त्यहाँ फिफा विश्वकपमा महिला रेफ्रीहरूले इतिहास रच्ने छन् । पुरुष विश्वकपको इतिहासमा पहिलोपटक र विश्वको लोकप्रिय विश्वकप फुटबलको पिचमा महिला रेफ्रीको टोली हुनेछ ।
फिफाले तीन महिला रेफ्री र तीन महिला सहायक रेफ्रीहरू विश्वकपका लागि छनोट गरिसकेको छ । विश्वकप खेलाउने १२९ रेफ्रीमा ६ महिला रेफ्री रहनेछन् । कतारका लागि ६ महिला रेफ्रीको सूचीमा स्टेफानी फ्रापार्ट पहिलो स्थानमा छिन् । फ्रान्सेली महिला रेफ्रीले पुरुष विश्वकप छनोट खेलहरू, पुरुष च्याम्पियन्स लिग, सन् २०१९ महिला विश्वकपको फाइनललाई अफिसियल र भर्खरै उनले मेमा भएको पुरुष फ्रेन्च कपमा रेफ्रीको भुमिका निभाएकी थिइन् ।
फिफा रेफ्री समितिका अध्यक्ष पियरलुइगी कोलिनाले भने, ‘सदाझैं हामीले प्रयोग गरेको मापदण्ड पहिलो गुणस्तर हो, र छनोट गरिएका म्याच अधिकारीहरूले विश्वव्यापी रूपमा उच्च स्तरको रेफ्रीको प्रतिनिधित्व गर्छन् ।’
फिफा विश्वकप कतार २०२२ का महिला रेफ्री
कतारमा हुने २०२२ फिफा विश्वकपको ६४ खेलको लागि ३६ रेफ्रीको सूचीमा फ्रान्सकी स्टेफानी फ्रापार्टसँगै रुवाण्डाकी सलिमा मुकानसांगा र जापानकी योशिमी यामाशिता पनि परेका छन् । ६९ सहायक रेफ्रीमा ब्राजिलकी नेउजा ब्याक, मेक्सिकोकी करेन डियाज मेडिना र अमेरिकाकी क्याथ्रिन नेस्बिट छिन् ।
‘मलाई आशा छ कि भविष्यमा महत्वपूर्ण पुरुष प्रतियोगिताहरूको लागि एलिट महिला म्याच अधिकारीहरूको छनोटलाई सामान्य कुराको रूपमा लिइनेछ र अब सनसनीपूर्ण जस्तो छैन,’ कोलिनाले भने, ‘उनीहरू फिफा विश्वकपमा हुन योग्य छन् ।उनीहरुले निरन्तर उच्च स्तरमा प्रदर्शन गर्छन् र यो हाम्रो लागि महत्वपूर्ण कारक हो ।’फिफाले २०१९ मै ५० रेफ्री र सहायक रेफ्रीलाई विश्वकपको लागि तयारी थालेको थियो । तर, विश्वभर बढ्दो कोरोना महामारीका यो प्रभावित बन्न पुगेको थियो ।