उपत्यकामै १८५ मतदानस्थल संवेदनशीलको सूचीमा

[sharethis-inline-buttons]

ललितपुर — स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै स्थानीय प्रशासनले उपत्यकाका १८५ मतदानस्थललाई संवेदनशीलको सूचीमा राखेको छ । जसअनुसार काठमाडौंमा ११५, ललितपुरमा ५० र भक्तपुरमा २० मतदानस्थल संवेदनशीलको सूचीमा छन् । भौगोलिक विकटता, चुनावविरोधी समूहको गतिविधि तथा यातायात, सञ्चार र जनघनत्वको आधारमा मतदानस्थलाई अति संवेदनशील र संवेदनशीलको सूचीमा राखिएको हो ।काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले सुरक्षा खतराको महसुस गरेर मतदानस्थलहरूलाई संवेदनशील सूचीमा राखिएको र अतिरिक्त सुरक्षाकर्मी परिचालन गरेको बताए । ‘

सुरक्षाको दृष्टिकोणले संवेदनशील क्षेत्रबारे प्रकाशमा ल्याउन मिल्दैन,’ उनले भने, ‘बुथको सुरक्षा क्रमशः पहिलो घेरामा रहेर म्यादी, दोस्रोमा प्रहरी र तेस्रोमा सशस्त्रले गर्नेछन् ।’उनका अनुसार सेना ‘मोबाइल टोली’ को रुपमा सुरक्षामा खटिनेछ । ‘प्रहरीमा डीएसपी, सशस्त्र र आर्मीमा मेजरको कमान्ड रहनेछ,’ उनले भने, ‘मतदानस्थलमा सुरक्षाकर्मी र कर्मचारी मतपत्रसहित पुगिसकेका छन् ।’ काठमाडौंमा ३२० मतदानस्थल र ३ लाख २४२ मतदाता छन् ।

त्यस्तै, ललितपुरको ठुलादुर्लुङ, कालेश्वर, गिम्दी, आश्राङलगायतका ३० मतदानस्थललाई संवेदनशील सूचीमा राखिएको छ । पहाडी भूगोलका यी क्षेत्र विकट मानिन्छन् । ललितपुर प्रहरी प्रवक्ता एसपी रुद्रबहादुर शाहीले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएको बताए । ‘जिल्लाको दक्षिण भेगमा प्रहरीसँगै सेनाले पनि निगरानी बढाएको छ,’ उनले भने, ‘संवेदशनशील क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।

सहरी क्षेत्रमा पनि सुरक्षा

व्यवस्था कडा पारिएको छ ।’ ललितपुरमा २८८ मतदान केन्द्र छन् भने २ लाख ४३ हजार ८८४ जना मतदाता छन् ।भक्तपुर प्रशासनले पनि २० वटा मतदानस्थललाई संवेदनशील सूचीमा राखेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सुरक्षाका कारण संवेदनशील सूचीमा राखिएका मतदानस्थलको नाम खुलाउन नमिल्ने बताइन् । निर्वाचनका लागि जिल्लाभर म्यादी प्रहरी र आर्मीबाहेक प्रहरी र सशस्त्रका मात्रै १ हजार ५ सय सुरक्षाकर्मी खटाएको उनले जानकारी दिइन् । ‘मतदानस्थलमा संरचना बनाउन पनि सुरु गरिसकेका छौं,’ उनले भनिन् । भक्तपुरमा २१९ मतदान केन्द्र छन् भने १ लाख ९९ हजार मतदाता छन् ।

प्रहरीले निर्वाचनलाई लक्षित गरी अन्य मतदानस्थलमा पनि सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ । ‘मोबाइल, मोटरसाइकल र पैदल गस्ती बढाइएको छ । एकान्त, भीडभाड र जनघनत्व बढी भएको क्षेत्रमा सिभिल ड्रेसमा पनि प्रहरी परिचालन गरिएको छ,’ एक उच्च प्रहरी अधिकारीले भने ।उनका अनुसार उपत्यकाका तीनवटै जिल्लामा मादक पदार्थ सेवन तथा बिक्रीवितरणमा कडाइ गर्नुका साथै होटल, रेस्टुरेन्टहरू तथा नेवारी बस्तीभित्रका भट्टी पसलमा समेत निगरानी बढाइएको छ ।

चुनावविरोधी गतिविधि हुने, दलका कार्यकर्ताबीच झैझगडा र अन्य हिंसात्मक गतिविधि हुन सक्ने भन्दै प्रहरीले मादक पदार्थ बिक्रीवितरण गर्ने पसलहरूमा ‘स्टिङ अपरेसन’ नै थालेको छ ।ललितपुर प्रहरीका अनुसार सोमबार र मंगलबार मात्रै गोदावरी क्षेत्रबाट २ सय लिटर अवैध मदिरा नस्ट गरिएको छ । ललितपुरका एसपी शाहीले निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण नगर्न कडा निर्देशन दिएको बताए । ‘सानेपा, कुपन्डोल, झम्सीखेल, बखुडोललगायत क्षेत्रका होटल रेस्टुरेन्ट सञ्चालकलाई साँझ ७ बजेभित्र पसल बन्द गर्न निर्देशन दिएका छौं,’ उनले भने । भक्तपुर प्रजिअ शर्माले निर्वाचन आचारसंहिता पालना गर्न माइकिङ गरिरहेको बताइन् । ‘उल्लंघन गर्नेलाई कारबाही गरिनेछ,’ उनले भनिन् । कान्तिपुर