पार्श्व गायनमा जम्दै रचना रिमाल

[sharethis-inline-buttons]

काठमाण्डौँ-

विगत एक दशकदेखि नेपाली फिल्मको पार्श्व गायनमा अञ्जु पन्तले एकछत्र राज गरेकी छन् । नेपाली फिल्मका प्रायः अभिनेत्रीसँग स्वर ‘म्याच’ हुने भएकाले पनि निर्माता/निर्देशकको पहिलो रोजाइ उनी हुने गरेकी छन् । तर, केही समयदेखि उनी अमेरिकामा बस्न थालेकाले यतिबेला विभिन्न गायिकाहरुले पार्श्व गायनमा अवसर पाइरहेका छन् । यसमध्ये एक हुन्, गायिका रचना रिमाल ।

गायनको दुनियाँमा रचनाको नाम नयाँ होइन । कोरोना महामारीयता उनले एक हजारभन्दा बढी गीतमा आवाज भरिसकेकी छन् । ‘फोटो फिरिममा’, ‘उनको प्रीति’, ‘मिनरल वाटर’, ‘हजुर मुसुक्कै’ जस्ता कयौं लोकप्रिय गीत गाइसकेकी उनले अब पार्श्व गायनमा पनि आफूलाई सक्रिय बनाउन थालेकी छन् । उनको पार्श्व गायन यात्राको सुरुवात फिल्म ‘म त मर्छु कि क्या हो’बाट भएको थियो ।

यसपछि रचनाले लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्म ‘बुलाकी’ र राजबहादुर साने निर्देशित फिल्म ‘सिल्ली फो’को गीतमा पनि स्वर दिइसकेकी छन् । दुवै फिल्म प्रदर्शनको तयारीमा छन् । उनले अन्य दुई फिल्मको गीत पनि गाइसकेकी छन् । गायिका रिमालले अब फिल्मको गीतलाई पनि प्राथमिकता दिने बताएकी छन् । फिल्मको गीत गाउँदा खुशी महशुस हुने उनको भनाई छ ।