आज्ञा सम्वाददाता
काठमांडौ
काठमाडौं, २१ वैशाख। शैक्षिक सत्र २०७९ को भर्ना सुरुभएपनि जनक शिक्षा सामग्री केन्द्रले ५ देखि ८ सम्मका पाठ्यपुस्तक छपाइ पूरा गर्न अझै एक महिना लाग्ने वर्नाका् छ । वैशाखबाट भर्ना सुरु गर्ने र १ जेठदेखि २०७९ को शैक्षिक सत्रको पढाइ सुरु गर्ने तयारी भएपनि अझै कक्षा ५ देखि ८ सम्मका पाठ्यपुस्तकको छपाइ पूरा गर्न थप एक महिना लाग्ने जनक शिक्षा सामग्रीले जनाएको छ ।
कागजको अभावका कारण कक्षा ५ देखि ८ सम्मका पाठ्यपुस्तक छपाइ पूरा गर्न ढिलाइ भएको केन्द्रको भनाइ छ । अरु कक्षाको भने सबै पुस्तकको छपाइ सकिएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए ।
प्रवन्धक झाका अनुसार कागज समयमौ आइनपुग्दा तीन वटा कक्षाका पाठ्यपुस्तक छपाइ पूरा गर्न बाँकी रहेको छ । त्यो पनि अव चाँडै छपाई सकिंदैछ। अन्य कक्षाको भने पाठ्यपुस्तक छपाई सकिसकेको प्रवन्धक झाले जनाए। उनका अनुसार अबको एक महिनाभित्र सबै छपाइ सकिन्छ।
मतपत्र छपाइको जिम्मेवारी पाएको केन्द्रले त्यसले पनि पुस्तक छपाइमा केही प्रभाव पारेको झा बताउँछन्। उनले भने, ‘अब भोलिसम्म मतपत्रको सम्पूर्ण काम सकिन्छ । पर्सिदेखि पुस्तक छपाइमा साथीहरु लाग्नुहुन्छ । मतपत्र छपाइको कामले पुस्तक छपाइमा थोरै प्रभाव परेको छ ।’
कक्षा ५ र ८ मा भने आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू हुने भएकोले छाप्दै वितरण गर्ने र अपुग भएका पुस्तक मात्र छाप्ने गरी काम भइरहेको उनको भनाइ छ । जनक शिक्षाको ९ वितरण केन्द्र र १२ सय बिक्रेता रहेकोले समयमा नै बालबालिकाको हातमा पुस्तक पुग्ने झाको दाबी छ ।
२०७५ सालमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १ देखि १२ सम्मका विद्यालय तहका पाठ्यपुस्तक छपाइ तथा वितरण गर्ने निर्णय गरेको थियो । निजी प्रकाशन गृह तथा वितरकले कक्षा १ देखि ४ कक्षाको पाठ्यपुस्तक छपाइ तथा वितरण गर्ने र कक्षा ४ देखि १२ सम्मका पाठ्यपुस्तक जनक शिक्षाले छाप्ने निर्णय भएको थियो । तर यो वर्ष भने निजी प्रकाशन गृह तथा वितरकले कक्षा १ देखि ३ सम्मको र जनक शिक्षाले ४ देखि १२ सम्मका पाठ्यपुस्तक छपाइ गरेको छ ।
नयाँ पाठ्यक्रम लागू
राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुरुप यही शैक्षिक सत्र २०७९ मा कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रम लागू हुँदैछ । सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ तयार गरी शैक्षिक सत्र २०७७ देखि शैक्षिक सत्र २०८० कक्षा १ देखि १२ सम्म नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रम निर्माण गरी वितरण केन्द्रमा पु¥याइसकेको बताएको छ ।
शैक्षिक सत्र २०८० सालमा कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू गरिएपछि विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम कार्यान्वयनमा आइसक्ने छन् । कक्षा ५ को शैक्षिक सत्र २०७९ को विभिन्न २८ वटा विद्यालयमा परीक्षण पढाइका लागि पाठ्यपुस्तक तयार भएको केन्द्रकी पाठ्यक्रम अधिकृत चिना निरौलाले जानकारी दिइन् ।