निर्वाचनमा निष्ठा र इमान पराजित हुने हो कि !:प्रमुख निर्वाचन आयुक्त थपलिया

[sharethis-inline-buttons]

काठमाण्डौँ-
यस्ता मिथ्या सूचनाले ‘मनि’ र ‘मसल’ हावी हुने पो हो कि ? मतदातालाई बहकाउमा पारेर आफ्नो पक्षमा ल्याउन प्रभावित गर्न खोज्ने तत्व हावी हुने हो कि भन्ने डर लागिरहेको छ । निर्वाचन आयोगको निम्ति आचारसंहिता एउटा छाताजस्तो लाग्छ । उक्त छाताको बिंड आयोगले समातेको छ । तर यो छाता सबैले मिलेर बनाएको हो ।

आयोग राजनीतिक दल, उम्मेदवार, सञ्चार क्षेत्र, नागरिक समाज, गैरसरकारी संस्था र मतदातालाई यो छाता ओढाउन दौडिरहने र अरु यसलाई भनेर भागिरहने ! एउटा ओढाउन खोज्ने, अर्को पन्छाउन खोज्ने !यसो गर्दागर्दै न ओत दिन खोज्ने आयोग ओतिन्छ, न जसलाई ओत लगाउनुपर्ने हो त्यो ओतिन्छ । अन्ततोगत्वा निर्वाचन सकिंदा हामी दुवैपक्ष निथ्रुक्क भिज्ने पो हो कि ? यो भिजाइभित्र कुनै आनन्द छैन ।

यो आचारसंहिता लागु गर्ने एउटै अस्त्र छ । आचारसंहिता नैतिक बन्धनहरू हुन् । यसलाई हामीले स्वनियन्त्रणको औजारबाट, पालना गर्छु भन्ने प्रतिवद्धताबाट, स्वअनुगमनको विधिबाट र आत्मसमीक्षाको हतियार प्रयोग गरेर कार्यान्वयन गर्न सक्छौं । हामीले बनाएका नियमहरू राम्रा, व्यवहारिक र उपयोगी छन् र यसले निर्वाचनको स्वतन्त्रता, स्वच्छता र निष्पक्षतालाई सकारात्मक प्रभाव पार्दछ ।

निर्वाचनमा सबैले समान मैदान पाउनुपर्छ भन्ने सैद्धान्तिक मान्यतालाई स्थापित गर्दछ । उम्मेदवार कोही ठूलो र सानो हुँदैन । उसको विचार ठूलो हुनसक्छ र विचारमा पृथकता हुनसक्छ । तर, योग्यता पुगेका सबै उम्मेदवारले समान अवसर पाउने अवस्था सिर्जना हुनसक्छ । यस्तो अवस्था सिर्जना गर्न सबैले भूमिका खेलौं ।