सामुदायिक रेडियो प्रसारक सङ्घ ,अकोराब नेपालले निर्वाचन आचारसंहिता २०७९ सार्वजनिक गर्याे

[sharethis-inline-buttons]

आज्ञा सम्वादददाता
काठमांडौ
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालले निर्वाचन आचारसंहिता २०७९ सार्वजनिक गरेको छ।
मंगलबार जारी गरेको आचारसंहितामा कुनै पनि राजनीतिक दललाई लाभ पुग्ने सामग्री, अनुमानमा आधारित सामग्री प्रशारण गर्न नपाइने उल्लेख छ। कुनै पनि राजनीतिक दल, व्यक्ति, उम्मेदवार र संस्था विरुद्ध घृणा फैलाउने भाषाको प्रयोग गरी कार्यक्रम प्रशारण गर्न नपाइने जनाइएको छ। रेडियोबाट प्रशारण हुने सामग्री मार्फत कुनै पनि राजनीतिक दलको पक्षमा मत माग्ने र पक्ष वा विपक्षमा वातावरण निर्माण गर्न नहुने उल्लेख छ। तर, निर्वाचन आयोगले जारी गरेको मापदण्ड अनुरूप सशुल्क विज्ञापन प्रशारण गर्न भने सकिने जनाइएको छ। मतदाता र मतदान प्रक्रियालाई नकारात्मक रूपमा प्रभावित गर्ने मनसायले विज्ञापनलाई समाचारका रूपमा प्रस्तुत गर्न भने नपाइने उल्लेख छ।
सामुदायिक रेडियोकर्मी र सञ्चालक समितिका कार्यकारी पदमा रहेका व्यक्तिले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको चुनाव प्रचार अभियानमा खटिन नपाउने उल्लेख छ। यस्तै, कुनै पनि राजनीतिक दल र उम्मेदवारको प्रचार संयन्त्र र समितिमा रहन नपाइने जनाइएको छ।

यसैगरी समाजमा शान्ति, सुव्यवस्था, सुरक्षा र सामाजिक सदभावमा खलल पुग्ने कुनै पनि सामग्रीको प्रशारण गर्न नपाइने जनाइएको छ। रेडियोको कार्यालय र परिसरमा कुनै पनि दल र उम्मेदवारसँग सम्बन्धित पर्चा, पोस्टर, ब्यानर, होर्डिङ बोर्डजस्ता प्रचार सामग्री टाँस्नु वा झुन्ड्याउनु नपाइने उल्लेख छ।

रेडियोकर्मी र सञ्चालक समितिका कार्यकारी पदमा रहेका व्यक्तिले कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सामाजिक सञ्जाल र न्यूज मिडियाका माध्यमबाट कुनै पनि किसिमका सामग्री पोस्ट, शेयर, लाइक, कमेन्ट गर्न नपाइने आचारसंहितामा उल्लेख छ। देशभर ३६० भन्दा बढी सामुदायिक रेडियो छन्।