एजेन्सी –
म्यानचेस्टर युनाइटेडले अर्को सिजन युरोपा लिगका लागि छनोटको सम्भावना बलियो बनाएको छ । प्रिमियर लिगमा गएराती ब्रेन्टफोर्डलाई ३–० ले हराउँदै युरोपा लिगको सम्भावना मजबुत बनेको छ । युनाइेटडलाई सहज जित दिलाउन ब्रुनो फर्नान्डेज, क्रिस्टियानो रोनाल्डो र राफेल भारेनले गोल गरेका थिए । यो सिजन युनाइटेडको घरेलु मैदानमा त्यो अन्तिम खेल थियो । पछिल्ला चार खेलमा पहिलो जित निकालेपछि युनाइटेड अंक तालिकाको छैटौं स्थानमा उक्लेको छ ।
पाँचौं स्थानको टोटेनहम भन्दा युनाइटेड अझै ३ अंकले पछाडि छ । त्यसमाथि युनाइटेड टोटेनहमको भन्दा २ खेल बढी खेलेको छ । सातौं स्थानको वेस्ट ह्याम युनाइटेडको भन्दा युनाइटेड ६ अंकले अगाडि छ । प्रिमियर लिगको छैटौं स्थानको टोली युरोपा लिग र सातौं टोली युरोपा कन्फ्रेन्स लिगका लागि छनोट हुनेछन् ।
ब्रुनो फर्नान्डेजले नवौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । रोनाल्डोले ६१ औं मिनेटमा पेनाल्टी गोल गरेका थिए । रक्षक भारेनले ७२ औं मिनेटमा गोल गरेका थिए । प्रिमियर लिगमा यो सिजन रोनाल्डोले गोल संख्या १८ औं पुर्याएका छन् ।उनले शीर्षस्थानमा रहेका मोहम्मद सलाहसँगको गोल संख्याको दूरीलाई घटाएका छन् । गोल्ड बुटको दौडमा रहेको सलाहको २२ गोल छ ।
युनाइेटडले सिजनका अन्तिम २ खेल खेल्न बाँकी छ । आउने शनिबार टोलीले ब्राइट एन्ड होभ अल्बियोनसँग प्रतिस्पर्धा गर्नेछ । १४ औं स्थानमा रहेको ब्रेन्टफोडको रेलिगेसन जोनमा रहेको टोलीको भन्दा ८ अंक बढी छ । टोलीले अन्तिम ३ खेल खेल्न बाँकी छ ।