काठमाडौं (हाम्रो खेलकुद) –
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टि२० क्रिकेट लिग आयोजना गर्ने भएको छ । क्यानले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल टि२० आयोजना घोषणा गरेको छ । नेपाल टि२० आयोजना गर्न क्यानले दुई महिना अगाडिनै राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट अनुमति पाएको थियो । भारतीय कम्पिनी सेभेन थ्रि स्पोर्ट्स नेपाल टि२० लिगको रणनीतिक र कर्मसियल साझेदारीको रुपमा रहनेछ । क्यानले नेपाल टि२० आयोजना गर्न यसअसघि नै सेभेन थ्रि स्पोर्ट्ससँग ८ वर्षको लागि ३३ करोडको सम्झौता गरेको छ । सेभेन थ्रि स्पोर्ट्ससँग सम्झौता १० वर्ष भएपनि दुई वर्ष घटाउँदै ८ वर्षमा झारेको हो ।
क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लका अनुसार नेपाल प्रिमियर लिग अन्य कसैले दर्ता गराएको हुँदा नेपाल टि२० को नामबाट आयोजना गर्न लागिएको हो । प्रतियोगिता सेप्टेम्बरमा गर्ने तयारी गरेको छ ।कप्तान सन्दीप लामिछानेले युवा खेलाडीलाई सहयोग पुग्ने बताउँछन् । ‘स्वागत छ, नेपाल टि२० ले क्रिकेट खेल्न चाहने युवा खेलाडीहरुको लागि आमन्त्रण गर्नेछ । यसले क्रिकेट विकास, उत्कृष्ट प्रशिक्षक र स्टाफबाट सिकाउनेछ,’ सन्दीपले भनेका छन् ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपाल टि२० ले क्रिकेट विकासकोसँगै अन्तर्राष्ट्रिय प्रदर्शनमा सुधार आउने बताउँछन् । खेलकुद मन्त्री महेश्वर जंग गहतराजले क्रिकेटमात्र नभएर समग्र आर्थिक विकास हुने बताउँछन् ।