आज्ञा सम्वाददाता
काडमांडौ
सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तालमेलको भागबन्डा टुंगो लगाउन बैठक बस्न लागेको हो ।
सत्तारुढ गठबन्धनले भने चुनावी तालमेल गरेर उम्मेदवार उठाउने सहमति गरेको छ । गठबन्धनका शीर्ष नेताहरुले महानगरपालिका र उपमहानगरपालिकाको विषयमा निर्णय गर्न सोमबार बसेको बैठक निष्कर्षविहीन बनेपछि आज पुनः छलफलमा जुट्न लागेका हुन् ।
सोमबार दिनभर गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटे पनि दलहरुबीच सहमति हुन सकेन ।
स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सैद्धान्तिक सहमति गरेर दलहरुलाई महानगर र उपमहानगरको भागबन्डा मिलाउन सकस भइरहेको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुबाटारमा बिहान साढे ११ बजे सुरु हुने छ । हिजोको बैठक सहमति नजिक पुगेको र आज अन्तिम रुप दिइने कांग्रेस नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
६ ओटा महानगरमध्ये ५ ओटामा लगभग सहमति भइसकेको नेताहरुको दाबी छ । तर, पोखरा महानगरपालिकामा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले आफ्नो दाबी नछोडेका कारण सहमति हुन सकेको छैन ।
एकीकृत समाजवादीले तालमेल गरेर जाने निर्णय भइसकेपछि पोखरा महानगरपालिकाको प्रमुख आफ्नो पार्टीले पाउनुपर्ने दाबी गर्दै आइरहेको छ भने उता नेपाली कांग्रेसले पनि आफ्नो पार्टीले नै पाउनुपर्ने दाबी गरिरहेको छ ।