काठमाडौं (हाम्रो खेलकुद) –
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र नेपालकालागि अर्जेन्टिनाका राजदुत डा. ह्युगो जाभियर गोवी बिच शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री गहतराजले अर्जेन्टिनी फुटबल टोलीलाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन् । राष्ट्रपति समक्ष ओहदाको प्रमाणपत्र बुझाउन नेपाल आएका राजदुत गोवीले मंगलबार सिंहदरबार स्थिति युवा तथा खेलकुद मन्त्रालय पुगेर मन्त्री अथकसँग भेटवार्ता भएको हो ।
भेटका क्रममा मन्त्री अथक र राजदुत गोवीबिच दुई देशबिचको पारस्परीक सम्बन्ध तथा खेल क्षेत्रको समग्र विकासका बारेमा छलफल भएको थियो ।भेटकै क्रममा मन्त्री अथकद्वारा नेपाल र अर्जेन्टिनाविच मैत्रीपूर्ण फुटबल खेलका लागि राखिएको प्रस्तावमाथी राजदुत गोवीले सहमती जनाएको सचिवालयले जानकारी दिएको छ ।
दुई देश बीच हुने मैत्रीपुर्ण खेलबाट दुई देशको सम्बन्ध अझै प्रगाढ हुने आशा व्यक्त गर्दै मन्त्री अथकले राजदुत गोवी मार्फत अर्जेन्टिनाका फुटबल खेलाडीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।