उदाउदो सुर्यलाई अर्घ दिएर छठ पर्व सम्पन्न

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
महोत्तरी
महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा चारदिनसम्म मनाइने चैती छठ पर्व आज उदाउदो सुर्यलाई अर्घ दिएर सम्पन्न भएको छ ।
मंगलबारदेखि सुरु भएको छठ पर्वको तेश्रो दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइएको थियो ।

चार दिनसम्म मनाईने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने दोस्रो दिन दिन खरना पर्व मनाईन्छ ।

पर्वको तेश्रो दिन अस्ताउदो सूर्यलाई अर्घ दिन ब्रतालुहरुले साँझ सूर्य अस्ताउने प्रतिक्षा गर्दछन् । त्यसै क्रममा सूर्य अस्ताउनु एक घण्टा अघि देखिनै ब्रतालुहरु पोखरीमा प्रवेश गरि खष्ठीमाताको ध्यान गर्दै सूर्य देवलाई अर्घ दिने गर्दछन् ।

चैती छठको अवलोकन गर्न बिहीबार साँझ र शुक्रबार बिहान महोत्तरीका बिभिन्न ताल पोखरी तथा जनकपुरधामको गंगासागर र अंंगराजसरमा श्रद्धालु भक्तजनको भीड लागेको थियो ।

अर्घमा मुला, उँखु,भण्टा, ठकुवा, भुसवा ,केरा,नरिवल लागायतका सामग्रीहरु चढाउने गरिन्छ । सन्ध्या अर्घ पश्चात रात भरि ब्रतालुहरु जागरण बसि भोली पल्ट चैत्र सुक्ल सप्तमी तिथीका दिन उदाउदो सूर्यलाई अर्घ दिई पर्वको समापन गर्ने चलन छ ।

कार्तिकमा मनाईने छठ पर्व जतिको संख्यमा श्रद्धालुभक्तजनहरु नभए पनि विस्तारै चैती छठ पर्व गर्नेहरुको संख्या बढ्दै गएको छ ।

चैती छठ पर्व गर्नाले चिताएको मनोकामना पुरा हुने तथा चर्म रोग निको हुने र मानसिक प्रसन्नता प्राप्त हुने जन विश्वास रहि आएको छ ।

धार्मिक आस्था ,विश्वास तथा सद्भावको रुपमा मनाईने यो पर्व केही वर्ष पूर्व सम्म मारबाडी समुदायका केही व्यक्तिहरुले मात्र मनाउने गर्दथे । तर वर्षेनी यो पर्व मनाउनेहरुको संख्यामा वृद्धि भइरहेको छ ।