एजेन्सी –
इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा सहज जित हात पारेको छ । लिभरपुलले पोर्चुगिज क्लब बेन्फिकामाथि ३–१ को अवे जित निकालेको हो । लिसवोआ पोर्चुगलमा मंगलबार राति भएको खेलमा लिभरपुलको जितमा इब्राहिमा कोनाट, साडियो माने र लुइस डियाजले गोल गरे । घरेलु टोली बेन्फिकाका डार्विन नुनेजले एक गोल फर्काए ।
खेलको १७औं मिनेटमा इब्राहिमा कोनाटको गोलबाट लिभरपुलले सुरुवाती अग्रता लिएको थियो । उनले एन्ड्रिउ रोबर्टसनको पासमा गोल गर्न सफल भएका थिए । ३४औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । मानेले लुइस डियाजको पासलाई सदुपयोग गरेका थिए ।
४९औं मिनेटमा डार्विन नुनेजले राफा सिल्भाको पासमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिए । तर, ८७औं मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुलको जित पक्का गरे । उनले नावी केइटाको पासमा गोल गर्न सफल भएका थिए ।यो जितसँगै लिभरपुलले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
अब १३ अप्रिलमा घरेलु मैदानमा हुने दोस्रो लेगमा लिभरपुलले यही नतिजा कायम राख्न सके सेमिफाइनलमा प्रवेश गर्नेछ ।
२–० को हारले पनि लिभरपुलले सेमिफाइनलमा पुग्नेछ । बेन्फिकालाई सेमिफाइनलमा प्रवेश गर्न कम्तीमा पनि ३–० को जितको खाँचो छ ।