कौडेना गाउँपालिकामा अनियमितता नभएको अध्यक्षको दावी

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
सर्लाही
सर्लाहीको कौडेना गाउँपालिकाले गाउँपालिकामा कुनै पनि किसिमको अनियमितता नभएको दावी गर्दै शुक्रबार पत्रकार सम्मेलन गरेको छ ।
कोरोना भाइरस संक्रमणबाट प्रभावितका लागि आएको रकममा गाउँपालिकाले अनियमिता गरेको उजुरी परेपछि गएको मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो । कौडेना गाउँपालिकाका अध्यक्ष रामप्रसाद राय यादवले चालू आर्थिक वर्ष २०७८÷०७९ मा कोरोना भाइरस सङ्क्रमणबाट प्रभावित परिवारलाई वितरण गर्न ७४ लाख २० हजार रुपैयाँ बजेट प्राप्त भएको बताए । फागूपूर्णिमा अघि कर्मचारीलाई तलब भत्ता खुवाउन समस्या भएपछि सो बजेटबाट पछि सोधभर्ना गर्नेगरि रकामान्तर गरेर केही समयका लागि १२ लाख १० हजार रुपैयाँ खर्च गरिएको गाउँपालिकाका अध्यक्ष यादवको भनाई छ ।

कर्मचारीलाई तलब भत्ता खुवाइएको सो रकम पछि फिर्ता गर्ने गरी खर्च गरिएपनि कोरोना भाइरस संक्रमणबाट प्रभावित परिवारलाई वितरण गर्न आएको रकम कहीँकतै खर्च नभएको उनले दावी गरेका छन् । गाउँपालिका अध्यक्ष यादवले चार वर्षसम्म आफ्नो गाउँपालिका सर्लाहीबाट अख्तियारमा सबैभन्दा कम उजुरी पर्ने पालिकामा परेको भएपनि निर्वाचन नजिकिँदै गर्दा अहिले भने विपक्षीहरुले धमाधम उजुरी दिएर काममा अवरोध खडा गर्न थालेका बताए ।

यादवले यस विषयमा अख्तियारलाई निष्पक्ष छानविन गर्न गाउँपालिकाले सहयोग गर्ने बताए। कौडेना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद यादवले पनि पछि फिर्ता गर्ने गरी केही रकम कर्मचारीको तलब भत्तामा खर्च गरिएपनि अरु बजेट खातामा नै रहेको बताएका छन् ।

यसअघि पनि पटक–पटक केही समयका लागि पछि सोधभर्ना गर्ने गरी बजेट रकामान्तर गरेर खर्च गर्दै आइरहेको प्रमुख प्रशासकीय अधिकृत यादवको भनाई छ । यादवले कोरोना भाइरस संक्रमणबाट प्रभावित परिवारलाई राहत रकम वितरणका लागि विवरण सङ्कलनकै चरणमा रहेको बताए ।