सर्लाहीको लालबन्दीमा कार दुर्घटना एकको ज्यान गयो पाँच घाइते

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
सर्लाही
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दीमा बुधबार राति भएको कार दुर्घटनामा एक भारतीय नागरिकको ज्यान गएको छ । पाँचजना भारतीय नागरिक घाइते भएका छन् ।भारतको सोनवर्षाबाट नेपाल भित्रिएको बीआर ०६ बीएम १५३७ नम्बरको भारतीय कार राति १० बजे लालबन्दी नगरपालिका–१७, स्थित कालिञ्जोर पुल छेउमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा कार चालक भारतको सीतामढी जिल्ला बयलडाबड धनुषी २ निवासी २२ वर्षीय नवीन यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । यादवलाई उपचारका लागि गढिमाई अस्पताल लालबन्दी ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।

दुर्घटनामा मृतक चालककै गाउँका २७ वर्षीय अतुल कुमार, १९ वर्षीय उमेश भन्ने दिवयान्स यादव, २८ वर्षीय प्रिन्सराज राजपुत, २२ वर्षीय बजरङ्गी भन्ने शौरव यादव र भारत मुजफ्फरपुर रामनगर १ बस्ने २५ वर्षीय अजित यादव घाइते भएका छन् ।

उनीहरुमध्ये २७ वर्षीय अतुल कुमारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पाँचै जना घाइतेको गढिमाई अस्पतालमै उपचार भइरहेको छ ।

तीव्र गतिका कारण नियन्त्रण गुमाएर कार दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । पूर्वतर्फ गइरहेको कार विपरीत लेनमा सडकबाट दक्षिणतर्फ १० फिट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।