महोत्तरी र सर्लाहीमा एक सातादेखि डढेलोले वन सखाप पार्दा समेत वन कार्यालयले देखाएन चाँसो

[sharethis-inline-buttons]

महोत्तरी , चैत ७ गते ।

महोत्तरी र सर्लाहीमा एक सातादेखि डढेलोले वन सखाप पार्दा समेत वन कार्यालय कुनै चाँसो देखाएको छैन ।जंगलमा गएको एक सातादेखि डढेलो लागेको छ ।चारकोसे झाडीको रुपमा परिचित महोत्तरीको बर्दिबास र गौशाला नगरपालिका क्षेत्रमा पर्ने सामुदायिक, साझेदारी र राष्ट्रिय वन क्षेत्रमा डढेलो लागेको हो ।

त्यसैगरी सर्लाहीको हरिपुर नगरपालिका क्षेत्रमा पर्ने जानकीनगर साझेदारी वन, हरिवन नगरपालिका ६ मा पर्ने घुर्कैली वन, ईश्वरपुर नगरपालिका क्षत्रेको फुलजोड साझेदारी वन र उत्तरी चुरेका वन क्षेत्रमा पनि डढेलो लागिरहेको छ।पूर्वपश्चिम राजमार्गमा पर्ने महोत्तरीको खयरमारा, टुटेश्वर क्षेत्रको जंगलमा पनि ढडेलो देख्न सकिन्छ।

डढेलोको धुँवाले राजमार्गमा यात्रा गर्ने यात्रुलाईसमेत समस्या हुने गरेको छ।लक्ष्मिनियाँ चोक नजिकै वन कार्यालय महोत्तरीले हालै २० लाख खर्च गरेर इको पार्क निर्माण गरेको छ। पार्क नजिकैको जंगल डढेलोले जलिरहँदासमेत वन कार्यालयका कर्मचारी मुकदर्शक बनेर बस्ने गरेका स्थानीयले बताएका छन्।

डढेलोले वन क्षेत्र सखाप हुन लाग्दासमेत वन कार्यालय, सागरनाथ वन विकास परियोजनासहितका निकाय मुकदर्शक बनेका छन् ।
सरकाले चुरे वन संरक्षणको लागि वर्षेनी अर्बौं रुपैयाँ बजेट खर्च गर्ने गरेको छ ।