ढाका,चैत ४ गते । बंगलादेशमा इस्कोन मन्दिरमा आक्रमण भएको छ। ढाकास्थित इस्कोन राधाकान्त मन्दिरमा बिहीबार राति कट्टरपन्थीले आक्रमण गरेका थिए। मन्दिरमा आक्रमणसँगै तोडफोड समेत भएको छ।
यसै क्रममा मन्दिरमा रहेका मानिसलाई कुटपिट पनि गरिएको थियो। बंगलादेश सरकारलाई कडा कदम चाल्न र देशमा हिन्दु अल्पसंख्यकलाई सुरक्षा प्रदान गर्न हिन्दु धर्म सम्बद्ध संस्थाले माग गरेका छन्।
उक्त आक्रमण लालमोहन साहा स्ट्रीटमा रहेको मन्दिरमा भएको थियो। बिहीबार साँझ ७ बजे करिब दुई सयभन्दा बढी व्यक्तिले जबरजस्ती प्रवेश गरी मन्दिरमा तोडफोड गरेका थिए। यो भीडको नेतृत्व हाजी सैफुल्लाले गरेको बताइएको छ। मन्दिरमा तोडफोडसँगै लुटपाट भएको थियो। योसँगै मन्दिरमा उपस्थित मानिसहरूलाई पनि कुटपिट गरिएको थियो। यस क्रममा धेरै मानिस घाइते भएका छन् ।
हिन्दुमाथि निरन्तर आक्रमण
बंगलादेशमा मुस्लिम कट्टरपन्थीले हिन्दुलाई निशाना बनाउँदै आएका छन्। गत दशैँका वेला दुर्गा पूजा पण्डालमा आक्रमण भएको थियो। योसँगै कट्टरपन्थीले धेरै मन्दिरमा आक्रमण गरेका थिए। त्यस क्रममा इस्कोन मन्दिरलाई पनि निशाना बनाइएको थियो। हिंसाका यी घटनामा ७ जनाको ज्यान गएको थियो।
गत वर्ष पनि बंगलादेशमा ५० भन्दा बढी हिन्दुका घरमा आक्रमण भएको थियो । योसँगै चार मन्दिरमा तोडफोड समेत भएको थियो। खुलना जिल्लामा भएको लज्जास्पद घटनामा कैयौं देवताका मूर्ति तोडफोड गरिएको थियो। आक्रमणमा कट्टरपन्थी संगठन हिफाजत-ए-इस्लामको नाम आएको थियो।
बंगलादेशको जनसंख्या १६ करोड ५० लाख छ। त्यसमा हिन्दुको संख्या ९ प्रतिशत रहेको छ। बंगलादेशमा हिन्दुमाथि लामो समयदेखि आक्रमण हुँदै आएको छ। ३/४ वर्षयता यो निकै बढेको छ।एजेन्सी