आज्ञा सम्वामददाता
सिरहा
आपराधिक गतिविधि गरिरहेको आरोपमा प्रहरीको सर्वाधिक खोजीमा रहेको व्यक्तिले मालपोत कार्यालयमा आएर आफ्नो नाममा रहेको जग्गा सुटुक बेचेको खुलेको छ ।
प्रहरीले यत्रतत्र खोजी गरिरहेको जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह)का अध्यक्षसमेत रहेका सिरहा नगरपालिका–७ का नागेन्द्रकुमार पासवान (ज्वाला सिंह)ले जिल्ला सदरमुकाम सिरहामा रहेको भूमिसुधार तथा मालपोत कार्यालयबाट आफ्नो नाममा रहेको पाँच कित्तामध्ये दुई कित्ता जग्गा रजिष्ट्रेसन गरेर बेचेको खुलेको हो ।
सदरमुकामभित्रै रहेको मालपोत कार्यालयमा आएर भूमिगत गतिविधि गर्ने व्यक्तिले जग्गा पास गराएर फर्किंदा प्रशासनले सुइँकोसम्म नपाउनुले घटना रहस्यमय बनेको छ ।
उनले १४ जेठ २०७६ मा सिरहाको साविक रामनगर गाविस ६ (क) को कित्ता नम्बर १४७६ (हाल मिर्चैया नगरपालिका ६) को तीनकठ्ठा आठ धुर जग्गा २० लाख रुपैयाँ र ८ भदौ २०७५ मा कित्ता नम्बर १२५२ को चार कठ्ठा तीन धुर जग्गा २० लाख गरी ४० लाख रुपैयाँ थैली राखी रामनगर ६ का राजेश्वरप्रसाद साहलाई बिक्री गरेको मालपोतको श्रेस्तामा उल्लेख छ ।
भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका प्रमुख उपसचिव विष्णुप्रसाद सिटौलाले आफू यहाँ कार्यालय प्रमुख भएर आउनुभन्दा पहिला नै रजिष्ट्रेसन पास भएकोले त्यसबारे खासै जानकारी नरहेको बताए ।
पासवानको नामबाट १४ जेठ २०७६ र ८ भदौ २०७५ मा दुई कित्ता जग्गा बिक्री गरेको खुलेपछि सिरहा प्रहरीले पत्राचार गरी रोक्का राखेको जग्गा कसरी बिक्री भयो भन्ने विषयमा अनुसन्धान थालिएको बताए ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी डिएसपी सुवास बुढाथोकीले भूमिगत रहेका व्यक्तिको नाममा रोक्का रहेको जग्गा बिक्री भएको सूचना पाएपछि अनुसन्धान गरिरहेको बताए ।
‘प्रहरीले भूमिगत रहेर आपराधिक गतिविधिमा संलग्न पासवानको नाममा रहेको घर जग्गा रोक्का राख्न पहिले नै पत्राचार गरेको हो, कसरी जग्गा रजिष्ट्रेसन भयो, अनुसन्धान गर्दैछौँ,’ डिएसपी बुढाथोकीले भने ।
‘दुई कित्ता जग्गा बिक्री गरेको र अझै उनको नाममा विभिन्न क्षेत्रफलको तीन कित्ता जमिन रहेको बुझिएको छ,’ उनले भने ‘पहिले नै पत्राचार गरी रोक्का गर्न पत्र काटिएको हो । कसरी बिक्री भयो अनुसन्धान गर्दैछौँ र पुनः रोक्का गर्न पत्र काट्दै छौँ ।’
कुनै पनि फौजदारी मुद्दा दर्ता भएपछि प्रतिवादीको जग्गा जमिन तथा बैंक खाता तथा सम्पत्ति रोक्का गर्न प्रहरीले मालपोत कार्यालय र राष्ट्र बैंकलाई पत्राचार गर्ने गरेको जानकारी दिँदै उनले भने, ‘पासवानको हकमा पनि त्यही लागु हुनु पर्ने हो । तर, पत्राचार गर्दा पनि किन रोक्का भएन, कसरी, कसले जग्गा बिक्री गरे, को–को संलग्न छन् भन्ने पनि खोज्दैछौँ ।’
नागेन्द्र पासमानमाथि सिरहासहित विभिन्न जिल्लामा हत्या, अपहरण, फिरौती, बम विस्फोट लगाएतको दर्जनौँ मुद्दा रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।