काठमाडौं –
भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा प्रथम राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता ९ चैतदेखि हुने भएको छ ।प्रतियोगितामा सातै प्रदेशका जिल्ला र तीन विभागीय टोली (आर्मी, प्रहरी, एपीएफ) बाट करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
भक्तपुरको लिवालिस्थित कभर्डहलमा हुने प्रतियोगितामा ६ स्पर्धा समावेश छन् । यु–१५ पुरुष/महिला सिंगल्समा शीर्ष स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् ।पुरुष/महिला सिंगल्सका विजेताले ३५ हजार, उपविजेताले २० हजार र तेश्रोले १२ हजार ५ सयका दरले नगद पुरस्कार हात पार्ने छन् ।
भेट्रान ४५ वर्षमाथि डबल्स र पुरुष डबल्समा पहिलो हुनेलाई ३० हजार, दोश्रोलाई १५ हजार र तेश्रोलाई ७ हजार ५ सय नगदबाट पुरस्कृत गरिने छ ।