काठमाडौं ।
शहीद स्मारक बी डिभिजन लिगअन्तर्गत चौथो चरणको खेल समाप्त हुँदा चर्च ब्वाइज युनाइटेडले अग्रता कायम राखेको छ ।
शनिबार भएको खेलमा श्री कुमारी क्लबसँग १-१ को बराबरीमा रोकिँदा चर्च ब्वाइज २ अंकको अग्रता लिने अवसर गुमाए पनि अपराजित यात्रा कायम राख्दै शीर्षस्थानमै फर्किएको हो ।
४ खेलबाट चर्च ब्वाइज र श्री भगवती क्लबको समान १० अंक रहे पनि गोलअन्तरमा चर्च ब्वाइज अघि छ । यसअघि लगातार तीन खेल जितेको चर्च ब्वाइजको यो पहिलो बराबरी हो । श्री कुमारीले भने लगातार चौथो बराबरी खेलेको हो ।सी डिभिजन च्याम्पियन बन्दै बी मा उक्लेको चर्च ब्वाइज बी डिभिजनमा पनि शीर्ष दुईभित्र रहेर ए डिभिजनमा बढुवा हुने लक्ष्यसहित खेलिरहेको छ ।
लिगमा करिब एक तिहाई खेल सकँदा चर्च ब्वाइजले उत्कृष्ट लयलाई कायमै राखेको छ । यस पटक शीर्ष दुई स्थानमा रहने टिमहरु ए डिभिजन लिगमा बढुवा हुनेछन् ।अंकतालिकामा चर्च ब्वाइज र श्री भगवती क्रमश: पहिलो र दोस्रो स्थानमा छन् । १४ क्लब सहभागी लिगमा यस पटक अन्तिमका दुई टिम सी डिभिजनमा घटुवा हुनेछन् ।