आज्ञा खबर
धनुषा
मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले संविधानको धारा १६८ को उपधारा (३) अनुसार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेशसभा सदस्यहरूलाई समय दिइएको थियो । त्यसका लागि शुक्रबार दिउँसो ४ बजेसम्मको समयसीमा तोकिएको थियो ।
तर निर्धारित समयभित्र कुनै पनि दल वा प्रदेशसभा सदस्यले बहुमतसहित मुख्यमन्त्री पदमा दाबी पेस गर्न नसकेपछि संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेशसभामा सबैभन्दा ठूलो दलको संसदीय दलका नेताका रूपमा यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
मुख्यमन्त्रीमा नियुक्त भएसँगै यादवको नेतृत्वमा मधेश प्रदेशमा नयाँ सरकार गठन हुने बाटो खुलेको छ । अब नवनियुक्त मुख्यमन्त्री यादवले संविधानले तोकेको समयभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
विश्वासको मत प्राप्त गरेपछि मात्रै उनको नेतृत्वमा गठित सरकारले प्रदेशमा पूर्ण रूपमा आफ्नो कार्यकाल अघि बढाउन सक्नेछ ।
