आज्ञा खबर
बर्दिबास
नेपाली काँग्रेस महोत्तरी क्षेत्र नम्बर १ का वरिष्ठ नेता चिरञ्जीवी हमालले पार्टी कार्यालय स्थापनाका लागि जग्गादान गर्ने घोषणा गरेका छन्।
नेपाली काँग्रेस बर्दिबास नगर समितिले आउँदै गरेको दीपावली तथा छठ पर्वको अवसरमा सोमवार आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता हमालले पार्टी कार्यालय स्थापनाका लागि जग्गा उपलब्ध गराउने घोषणा गरेका हुन्। हमालले पार्टी कार्यालय स्थापनाका लागि बर्दिवासको कुन स्थानमा कति जग्गा दान गर्नै भन्ने बिषयमा नखुलाए पनी पार्टी कार्यालयलाई आवश्यक परेको जग्गा दान दिने कुरा घोषणा गरेका हुँन
कार्यक्रममा बोल्दै उनले नेपाली काँग्रेसलाई थप सुदृढ, व्यवस्थित र संगठित बनाउन पार्टीको आफ्नै कार्यालय आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि आफूले जग्गादान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। पार्टीको संगठन विस्तार र संस्थागत विकासमा सबै नेता तथा कार्यकर्ताले आ–आफ्नो तर्फबाट योगदान पुर्याउनुपर्नेमा समेत उनले जोड दिएका थिए।
यसैगरी, कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस महोत्तरी क्षेत्र नम्बर १ का महाधिवेशन प्रतिनिधि तथा बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रह्लादकुमार क्षेत्रीले पार्टीको संगठन विस्तार र सुदृढीकरणका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औल्याए। उनले पार्टीलाई जनतासँग जोड्दै संगठनलाई वडा तथा टोलस्तरसम्म विस्तार गर्न नेता तथा कार्यकर्ताहरू सक्रिय हुनुपर्ने धारणा राखेका थिए।
दीपावली तथा छठ पर्वको अवसर पारेर आयोजित कार्यक्रममा नेपाली काँग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
नेपाली काँग्रेस बर्दिबास नगर सभापति पशुराम गिरीको सभापतित्वमा सम्पन्न चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आपसी सद्भाव, एकता र शुभकामना साटासाट गर्दै सम्पन्न भएको थियो।





































