धर्म परिवर्तनको प्रलोभन देखाएको आरोपमा बर्दिवासबाट विदेशी नागरिकसहित दुई जना प्रहरी नियन्त्रणमा

निकेश खनाल

बर्दिबास

विभिन्न सेवा–सुविधा तथा विदेश भ्रमणको अवसर उपलब्ध गराउने आश्वासन दिँदै हिन्दू धर्म परिवर्तन गरेर क्रिश्चियन धर्म मान्न र्प्ररित गरेको आरोपमा महोत्तरीको बर्दिबासबाट एक विदेशी नागरिकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बर्दिबास नगरपालिका–१४ स्थित जय विश्वकर्मा ग्यारेजमा सोमबार बिहान धर्म परिवर्तनका लागि प्रलोभन देखाएको आरोपमा विश्व हिन्दु परिषद् बर्दिबासको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बर्दिबासको जिम्मा लगाएको हो।

प्रहरी नियन्त्रणमा पर्नेमा जापान घर भई सिन्धुलीको कमलामाई नगरपालिका–६, शान्तिचोकमा डेरा गरी बस्ने म्याक्की ओगाई र नुवाकोटको लिखु गाउँपालिका–४ स्थायी घर भई हाल बर्दिबास नगरपालिका–१ मा डेरा गरी बस्ने २९ वर्षीया सुनिता तामाङ रहेका छन्।

बर्दिबास नगरपालिका–१४ मा मोटरसाइकल ग्यारेज सञ्चालन गर्दै आएका ३१ वर्षीय विमल साह कानुले उनीहरूविरुद्ध दिएको जाहेरीमा ग्यारेजमा आएर कुराकानी गर्ने क्रममा आफूलाई क्रिश्चियन धर्म स्वीकार गर्न आग्रह गरेको उल्लेख गरेका छन्।

जाहेरीअनुसार आफू विदेशी नागरिक भए पनि नेपाली भाषा राम्रोसँग बोल्न र लेख्न जान्ने बताउने महिलाले लामो समयदेखि धार्मिक क्षेत्रमा काम गर्दै आएको जानकारी दिएकी थिइन्। त्यसपछि धर्म स्वीकार गरे विभिन्न सेवा–सुविधा उपलब्ध गराउने, देश–विदेश भ्रमणको अवसर मिलाइदिने र विदेशमा समेत सुविधा प्राप्त हुने आश्वासन दिएको आरोप जाहेरीमा लगाइएको छ।

त्यस्तै, बर्दिबास नगरपालिका–१४ कै ४५ वर्षीय श्यामबहादुर भुजेल र सोही स्थानमा पसलमा काम गर्ने ४५ वर्षीय रामनरेश महतोलाई समेत विभिन्न सेवा–सुविधा तथा अवसरको प्रलोभन देखाएर धर्म परिवर्तन गर्न प्रेरित गरिएको जाहेरवालाले दाबी गरेका छन्। उनले सम्बन्धित व्यक्तिहरूको भनाइसमेत बुझेर घटनाको वास्तविकता पत्ता लगाउन माग गरेका छन्।

विश्व हिन्दु परिषद् बर्दिबासको टोलीले उक्त गतिविधि देखेपछि उनीहरूलाई नियन्त्रणमा लिएर बर्दिबास–१४ स्थित औरही रोडको प्रहरी बिटमा बुझाएको बताइएको छ। त्यसपछि उनीहरूलाई इलाका प्रहरी कार्यालय बर्दिबासको जिम्मा लगाइएको हो।

नेपालको मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–९ अन्तर्गत दफा १५८ मा कसैको धर्म परिवर्तन गराउन, त्यसको उद्योग गर्न वा दुरुत्साहन दिन नहुने व्यवस्था छ। उक्त कसुर पुष्टि भएमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान छ। विदेशी नागरिकले यस्तो कसुर गरेको पुष्टि भएमा कैद भुक्तान गरेको सात दिनभित्र नेपालबाहिर पठाउनुपर्ने व्यवस्था पनि छ।

धर्म परिवर्तनको घटनाबारे थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...