लोकदोहोरीको उत्सवमा बर्दिबास, नयाँ नेतृत्व चयन गर्दै प्रतिष्ठानको महाधिवेशन सुरु

आज्ञा खबर

बर्दिबास

नेपाली लोकसंस्कृति संरक्षण र लोकदोहोरी कलाकारहरूको साझा नेतृत्व चयन गर्ने उद्देश्यसहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशन तथा रजत जयन्ती समारोह महोत्तरीको बर्दिबासमा सुरु भएको छ ।

बर्दिबास नगरपालिका–३, गौरीडाँडास्थित खुलामञ्चमा बिहीबारदेखि सुरु भएको महाधिवेशन मधेश प्रदेशमा पहिलोपटक आयोजना गरिएको हो । महाधिवेशनको उद्घाटन मधेश प्रदेशका सभामुख रामअशिष यादवले पानसमा दीप प्रज्वलन गरेर गरेका थिए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख यादवले लोक तथा दोहोरी गीत नेपाली समाजको सांस्कृतिक पहिचान र जीवनशैली अभिव्यक्त गर्ने महत्वपूर्ण माध्यम भएको बताए । लोकसंगीतले मनोरञ्जन प्रदान गर्नुका साथै समाजमा शैक्षिक चेतना र सकारात्मक परिवर्तन ल्याउन पनि भूमिका खेल्न सक्ने उनको भनाइ थियो ।

कार्यक्रममा श्रम तथा यातायात मन्त्री शारदादेवी थापाले देशका विभिन्न क्षेत्रबाट आएका कलाकारहरूको उपस्थितिले बर्दिबासको सांगीतिक पहिचान थप फराकिलो बनाएको बताइन् । कलाकारहरूले आफ्नो सिर्जना र प्रस्तुतिमार्फत स्वस्थ समाज निर्माणमा योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै उनले महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरिन् ।

होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले महाधिवेशनले मधेश प्रदेशको सांस्कृतिक पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । देशभरका कलाकारको जमघटले स्थानीय होटल, पर्यटन तथा व्यापार व्यवसायमा समेत सकारात्मक प्रभाव पार्ने उनको अपेक्षा छ ।

प्रतिष्ठानकी अध्यक्ष रीता थापाको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा चर्चित गायक प्रकाश सपूत र राजु परियारलगायत कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए । उनीहरूको प्रस्तुतिले समारोहलाई थप उत्साहपूर्ण बनाएको थियो ।

महाधिवेशनको उद्घाटनअघि लोकसंस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने सन्देशसहित विविध सांस्कृतिक पहिचान झल्कने र्‍यालीसमेत निकालिएको थियो ।

महाधिवेशनले आगामी तीन वर्षका लागि प्रतिष्ठानको नयाँ केन्द्रीय कार्यसमिति चयन गर्नेछ । अध्यक्ष पदका लागि गायक पशुपति शर्माको नाम चर्चामा रहेको छ ।

‘हाम्रो अभियानः लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने मूल नारासहित सुरु भएको महाधिवेशन असोज २४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...