गीतमै भेटिन्छ महोत्तरीको चिनारी, १५ पालिकालाई समेटेर ‘फूल फुल्यो बारैमास’ सार्वजनिक

आज्ञा खबर

बर्दिबास

महोत्तरी जिल्लाको भूगोल, संस्कृति, पर्यटन र स्थानीय पहिचानलाई समेटेर तयार पारिएको लोकदोहोरी गीत ‘फूल फुल्यो बारैमास, माया भए आउ भेट्न सुटुक्क, महोत्तरी बर्दिबास’ सार्वजनिक गरिएको छ ।

जिल्लाका १५ वटै स्थानीय तहको नाम, विशेषता र पहिचानलाई गीत तथा भिडियोमार्फत प्रस्तुत गरिएको उक्त गीत बर्दिबासमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । बर्दिबासस्थित विनायक होटलको सभाहलमा आयोजित कार्यक्रममा प्रोजेक्टरमार्फत गीतको भिडियो प्रदर्शन गरी विमोचन गरिएको थियो ।

गीतको विमोचन बर्दिबास उद्योग वाणिज्य संघका कोषाध्यक्ष सुरेन्द्र लामा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजकरण महतो, गायिका जमुना पोखरेल र गायक बेलबहादुर परियारले संयुक्त रूपमा गरेका थिए ।

गीतमा बेलबहादुर परियार र शारदा रसाइलीको स्वर रहेको छ भने शब्द तथा संगीत परियारकै रहेको छ । नारायण दङ्गालले एरेन्ज गरेका गीतको रेकर्डिङ कुमार सानु पुनले गरेका हुन् । यसको प्राविधिक सहकार्य शङ्करा डिजिटल स्टुडियोले गरेको छ ।

गीतको भिडियोमा सुजता भट्टराई, अशोक लाखे, सरु श्रेष्ठसहित विकास डान्स स्टुडियोको टोलीले अभिनय गरेको छ । भिडियो निर्देशन विकास घिमिरेले गरेका छन् भने छायांकन तथा पोस्ट प्रोडक्सनको जिम्मेवारी पिएस प्रोडक्सनले सम्हालेको छ ।

गायक परियारका अनुसार महोत्तरीलाई जिल्लाभित्र मात्र नभई बाहिरसमेत चिनाउने उद्देश्यले गीत निर्माण गरिएको हो । जिल्लाका ऐतिहासिक तथा पर्यटकीय स्थल, धार्मिक क्षेत्र, मठमन्दिर, चुरे भूभाग, खोला–नाला तथा यहाँको विविध भाषा, कला र संस्कृतिलाई गीतको कथ्यमा समेटिएको उनले बताए ।

गीत तथा भिडियोमा जिल्लाका १५ वटै पालिकाको नाम र स्थानीय विशेषतालाई स्थान दिइएको छ । यसले महोत्तरीको पर्यटन प्रवर्द्धनसँगै स्थानीय कला, संस्कृति र मौलिक पहिचानलाई व्यापक रूपमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

गीत ‘बेलबहादुर परियार अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...