अवसर र सीप पाए विशेष बालबालिकामा पनि देखिन्छ आत्मनिर्भर बन्ने सम्भावना

[sharethis-inline-buttons]

आज्ञा खबर

बर्दिबास
कक्षाकोठामा बसेर अक्षर चिन्ने र पाठ्यपुस्तक पढ्ने मात्र होइन, आफ्नै हातले बनाएका सामग्री प्रदर्शन तथा बिक्रीका लागि राख्दा बर्दिबास–२ स्थित आशा विशेष पाठशाला तथा पुनर्स्थापना केन्द्रका बालबालिकाको अनुहारमा छुट्टै खुसी देखिन्थ्यो। पोतेका माला, चुरा, धूप, पेन्टिङलगायतका सामग्री बनाएका विद्यार्थीहरू आफ्ना सिर्जना अभिभावक तथा आगन्तुकलाई देखाउँदै थिए।

यो दृश्य प्रथम त्रैमासिक परीक्षाफल वितरणका अवसरमा आयोजित सानो प्रदर्शनी तथा बिक्री स्टलको हो। सि आशा फाउण्डेसनद्वारा सञ्चालित पाठशालामा आइतबार आयोजित कार्यक्रममा विद्यार्थीहरूको प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल वितरणसँगै उनीहरूले तयार पारेका सामग्री प्रदर्शन तथा बिक्रीमा राखिएको थियो।

परीक्षाफल हातमा पाउँदाको खुसीसँगै आफ्नै मेहनतबाट तयार पारेका सामग्री अरूले रुचाएर खरिद गरिदिँदा विद्यार्थीहरूमा थप उत्साह देखिएको थियो। सोही क्रममा बिद्यार्थीको परीक्षाको नतिजा बुझ्न पाटशाला पुगेकाअभिभावकहरूले पनि आफ्ना नानीबाबुले बनाएका सामग्री खरिद गर्दै उनीहरूको सिर्जनशीलता र क्षमताको सम्मान गरे। पाठशाला पुगेका बिद्यार्थीका अभिभाबकले गरेको सामग्रीको खरिद केवल आर्थिक सहयोगमा सीमित थिएन, यसले विद्यार्थीको मनोबल बढाउने र ‘म पनि केही गर्न सक्छु’ भन्ने आत्मविश्वासको विकास गर्ने अवसरसमेत थियो।

पढाइसँगै सीप विकास

आशा विशेष पाठशालाको उद्देश्य अटिजम तथा विशेष आवश्यकता भएका बालबालिकालाई शिक्षा र सीप प्रदान गर्दै उनीहरूलाई आत्मनिर्भर बनाउनेतर्फ अघि बढाउनु हो। त्यसका लागि पाठशालाले परम्परागत कक्षाकोठा भित्र शिक्षासँगै विद्यार्थीको क्षमता, रुचि र आवश्यकताअनुसार सिर्जनात्मक तथा व्यावहारिक सीप विकासलाई प्राथमिकता दिँदै आएको छ।

बालबालिकाले बनाएका माला, चुरा, धूप र पेन्टिङजस्ता सामग्री सामान्य हस्तकलाका वस्तु मात्रैनभईती सामग्री उनीहरूको सिकाइ, अभ्यास, मेहनत र क्षमताका अभिव्यक्ति हुन्। एउटा सामग्री तयार गर्न उनीहरूले ध्यान केन्द्रित गर्ने, कामलाई निरन्तरता दिने, गल्ती सच्याउने र अन्ततः आफ्नो कामप्रति गर्व गर्ने अभ्याससमेत गरिरहेका हुन्छन्।

यस प्रकारका गतिविधिले बालबालिकामा रहेको क्षमता पहिचान गर्न र त्यसलाई व्यवहारमा उतार्न सहयोग पुग्ने पाठशालाको विश्वास छ। पाठ्यपुस्तकमा सीमित सिकाइभन्दा व्यवहारिक तथा सिर्जनात्मक गतिविधिमार्फत सिक्दा विद्यार्थीले आफूमा रहेको सम्भावना थप सहज रूपमा प्रस्तुत गर्न सक्ने वातावरण निर्माण हुन्छ।

अभिभावकको साथले बढाउँछ हौसला

विशेष आवश्यकता भएका बालबालिकाको विकासमा विद्यालयको प्रयाससँगै परिवार र समाजको सकारात्मक व्यवहार पनि महत्वपूर्ण हुन्छ। आशा विशेष पाठशालामा आयोजित प्रदर्शनीमा अभिभावकहरूले देखाएको उत्साहले पनि यही सन्देश दिएको छ।

आफ्ना बालबालिकाले तयार पारेका सामग्री खरिद गर्नु अभिभावकका लागि सामान्य किनमेल थिएन। उनीहरूले आफ्ना नानीबाबुको मेहनतलाई स्वीकार गर्दै प्रोत्साहन गरेका थिए। यसरी बालबालिकाको सानो प्रयासलाई पनि प्रशंसा र हौसला दिँदा उनीहरूमा आत्मविश्वास बढ्ने र थप नयाँ काम गर्न प्रेरणा मिल्ने आशा विशेष पाठशाला तथा पुनर्स्थापना केन्द्रका अध्यक्ष संतोष श्रेष्ठको भनाई छ।

विशेष आवश्यकता भएका बालबालिकालाई केवल सहयोगको आवश्यकता पर्ने व्यक्तिका रूपमा हेर्नुभन्दा उनीहरूको क्षमता पहिचान गरी अवसर दिन आवश्यक छ भन्छान स्थानिय समाजसेबी पोशन थापा उनका अनुसार उचित वातावरण, निरन्तर अभ्यास र प्रोत्साहन पाए उनीहरूले पनि आफ्नो क्षमता समाजमा प्रस्तुत गर्न सक्छन्।

पुनर्स्थापनातर्फको प्रयास

अटिजम तथा अन्य विशेष आवश्यकता भएका बालबालिकालाई समाजको मूलधारमा जोड्नु चुनौतीपूर्ण भए पनि असम्भव भने छैन। शिक्षा, सीप, व्यवहारिक अभ्यास र सामाजिक सहभागितालाई एकसाथ अघि बढाउन सके उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ।

आशा विशेष पाठशालाले सञ्चालन गर्दै आएका यस्ता गतिविधि पनि बालबालिकालाई क्रमशः आत्मनिर्भर बनाउने पुनर्स्थापनामुखी प्रयासका रूपमा हेरिएका छन्। उनीहरूले सिकेको सीपलाई व्यवहारमा प्रयोग गर्ने, आफ्नो सिर्जना अरूसामु प्रस्तुत गर्ने र त्यसको मूल्य बुझ्ने अवसर पाउँदा सामाजिक सहभागिताको आधार बलियो बन्न सक्छ।

प्रथम त्रैमासिक परीक्षाफल वितरणसँगै गरिएको प्रदर्शनीले एउटा महत्वपूर्ण सन्देश दिएको छ—विशेष आवश्यकता भएका बालबालिकामा पनि क्षमता, प्रतिभा र सिर्जनशीलता हुन्छ। आवश्यकता छ त केवल उनीहरूलाई सिक्ने, अभ्यास गर्ने र आफ्नो क्षमता देखाउने अवसरको।

विद्यालयमा हुने यस्ता गतिविधिले विद्यार्थीको आत्मविश्वास बढाउनुका साथै अभिभावक र समाजलाई पनि विशेष आवश्यकता भएका बालबालिकाप्रतिको दृष्टिकोण सकारात्मक बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ। परीक्षाको अंकभन्दा बाहिर पनि बालबालिकाको क्षमता मापन गर्ने धेरै आधार हुन्छन् भन्ने कुरा आशा विशेष पाठशालाका यी साना–साना सिर्जनाले उजागर गरेका छन्।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...