पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरि बढ्यो, एलपी ग्यासको मूल्य यथावत्

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमाडौं

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य पुनः वृद्धि गरेको छ। निगमका अनुसार आइतबार राति १२ः०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको मूल्य समायोजन गरिएको हो।

नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ। यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँ बढाइएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १३१ अमेरिकी डलरले वृद्धि गरिएको निगमले जनाएको छ।

निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) ले ३१ जुलाई २०२६ मा पठाएको नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गरिएको हो। आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीमा पेट्रोल प्रतिलिटर २० रुपैयाँ १९ पैसा, डिजेल ३९ रुपैयाँ ६७ पैसा तथा हवाई इन्धन १९ रुपैयाँ ६ पैसाले महँगो परेको उल्लेख छ।

संशोधित मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २०० रुपैयाँ पुगेको छ। सुर्खेत र दाङमा प्रतिलिटर १९९ रुपैयाँ कायम गरिएको छ भने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्ज क्षेत्रमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा निर्धारण गरिएको निगमले जनाएको छ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको छ।

निगमका अनुसार मूल्य समायोजनपछि पनि संस्थालाई प्रत्येक पन्ध्र दिनमा करिब १ अर्ब ४९ करोड रुपैयाँ बराबरको घाटा व्यहोर्नुपर्ने अवस्था कायम रहेको जनाएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...