आज्ञा खबर
जनकपुरधाम
धान रोपाइँको मुख्य समयमा रासायनिक मलको अभाव खेपिरहेका किसानलाई राहत दिने उद्देश्यले कृषि सामग्री कम्पनी लिमिटेड, जनकपुरधामले मधेश प्रदेश सरकारले उपलब्ध गराएको ‘बफर’ कोटाअन्तर्गत युरिया र डीएपी मल बिक्री–वितरण सुरु गरेको छ।
प्रदेश सरकारको असार ३१ गतेको निर्णयअनुसार प्रत्येक स्थानीय तहका लागि छुट्याइएको कोटाका आधारमा मल उपलब्ध गराउन थालिएको कम्पनीले जनाएको छ। स्थानीय तहको सिफारिसका आधारमा किसानलाई मल उपलब्ध गराइँदै आएको कम्पनीका सूचना अधिकारी बेचन साहले जानकारी दिए।
उनका अनुसार केही समयअघि देखिएको डीएपी मलको अभाव क्रमशः घट्दै गएको छ। साथै साउनको दोस्रो सातासम्म थप युरिया र डीएपी मल आइपुग्ने भएकाले अहिले देखिएको अभाव पूर्णरूपमा अन्त्य हुने अपेक्षा गरिएको छ।
कृषि सामग्री कम्पनीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा धनुषा जिल्लाका किसानलाई कुल १८ हजार ७४५.१० मेट्रिक टन रासायनिक मल वितरण गरिएको छ। यसमध्ये ११ हजार २४१.३५ मेट्रिक टन युरिया, ६ हजार ९६३.३० मेट्रिक टन डीएपी, ३७९.५५ मेट्रिक टन पोटास र १६०.९० मेट्रिक टन कृषि चुन रहेको छ।
सोही अवधिमा कम्पनीले १० हजार ६१८.५० मेट्रिक टन युरिया, ७ हजार २८९ मेट्रिक टन डीएपी, ४६३ मेट्रिक टन पोटास तथा २३५ मेट्रिक टन कृषि चुन प्राप्त गरेको जनाएको छ।
कार्यालय प्रमुख ध्रुव चौधरीका अनुसार धान रोपाइँको उच्च मागलाई ध्यानमा राख्दै मौज्दात व्यवस्थापन र वितरण प्रणालीलाई व्यवस्थित बनाइएको छ। किसानको आवश्यकताअनुसार थप मल उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय भइरहेको र केही दिनभित्रै थप परिमाणमा मल आइपुग्ने तयारी रहेको उनले बताए।
