समाजवादको नेतृत्व कम्युनिस्ट आन्दोलनले गर्ने : प्रचण्ड

[sharethis-inline-buttons]

आज्ञा खबर

जनकपुरधाम

नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई समाजवादको दिशामा अघि बढाउने ऐतिहासिक जिम्मेवारी कम्युनिस्ट आन्दोलनको काँधमा रहेको बताएका छन्।

मधेस प्रदेशको जनकपुरधाममा आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले नेपालमा सामन्ती शासनको अन्त्य, राजतन्त्रको विस्थापन र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना जस्ता राजनीतिक परिवर्तन कम्युनिस्ट आन्दोलनकै नेतृत्वमा सम्भव भएको उल्लेख गरे। अब ती उपलब्धिलाई संस्थागत गर्दै समाजवादी रूपान्तरणतर्फ देशलाई अघि बढाउने दायित्व पनि पार्टीकै रहेको उनको भनाइ थियो।

प्रचण्डले मधेस प्रदेशलाई राष्ट्रिय अर्थतन्त्रको आधार क्षेत्रका रूपमा व्याख्या गर्दै कृषि, उद्योग र उत्पादनसँग जोडिएका योजनालाई प्राथमिकता दिनुपर्ने बताए। मधेसको दीर्घकालीन विकासका लागि छिमेकी भारतसँग समेत पूर्वाधार र विकासका विषयमा विभिन्न तहमा छलफल भइसकेको उनले जानकारी दिए।

उनले तराई–मधेसमा भू–जलको सतह निरन्तर घटिरहेको विषय चिन्ताजनक भएको उल्लेख गर्दै कोशी नदीको पानीलाई चुरे क्षेत्र हुँदै नहरमार्फत वितरण गर्ने अवधारणामाथि अध्ययन भइरहेको बताए। यस्तो योजना कार्यान्वयन हुन सके सिँचाइ विस्तार हुनुका साथै भू–जल पुनर्भरण र मरुभूमीकरणको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।

पूर्वप्रधानमन्त्री दाहालले मरिण डाइभर्सन आयोजना र काठमाडौं–तराई/मधेस द्रुतमार्गजस्ता राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न आवश्यक पहल भइरहेको उल्लेख गरे। चुरे संरक्षणलाई वातावरणीय मात्र नभई राष्ट्रिय विकाससँग जोडिएको विषयका रूपमा हेर्नुपर्नेमा उनले जोड दिए।

देशले विभिन्न राजनीतिक तथा सामाजिक चुनौती सामना गरिरहेको उल्लेख गर्दै उनले नागरिकलाई सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचना र भ्रमबाट सचेत रहन आग्रह गरे। तथ्य र प्रमाणका आधारमा धारणा बनाउनुपर्नेमा उनले विशेष जोड दिएका थिए।

प्रचण्डले मिटरब्याज पीडित, सुकुम्बासी तथा भूमिसम्बन्धी समस्या अझै समाधान हुन नसकेको स्वीकार गर्दै दीर्घकालीन नीति र प्रभावकारी कार्यान्वयनबिना यस्ता समस्या समाधान हुन नसक्ने धारणा राखे।

कार्यक्रममा पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधानको रक्षा र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण सबै राजनीतिक शक्तिको साझा जिम्मेवारी भएको बताए। उनले गलत निर्णय र प्रवृत्तिप्रति समयमै खबरदारी गर्नुपर्ने आवश्यकता औँल्याए।

त्यसैगरी, पार्टीका अनुगमन तथा मूल्याङ्कन विभाग प्रमुख तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले विगतका अनुभवबाट पाठ सिक्दै संगठनलाई थप एकताबद्ध र सुदृढ बनाउन नेतृत्व जिम्मेवार हुनुपर्ने बताए। उनले आत्मसमीक्षा, अनुशासन र वैचारिक स्पष्टतामार्फत पार्टीलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

श्रोत शर्मिला घिमिरे

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...