आज्ञा खबर
काठमाडौं
महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा गोठहरू जलेर करिब रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ।
महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलमा बुधबार बिहान दिनेश यादवको गोठमा आगलागी हुँदा गोठ पूर्णरूपमा जलेको प्रहरीले जनाएको छ। उक्त घटनाबाट करिब रु तीन लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
यस्तै, काभ्रेको बनेपा नगरपालिका–१ दुलाल गाउँमा लक्ष्मण दुलालको गोठमा मङ्गलबार राति विद्युत् सर्ट भएर आगलागी भएको थियो। आगोले गोठ पूर्णरूपमा नष्ट हुँदा करिब रु दुई लाख ४० हजार बराबरको क्षति पुगेको प्रहरीको भनाइ छ।
त्यसैगरी, सप्तरीको कञ्चनरूप नगरपालिका–६ क्वाटर मलेठमा नवराज बस्नेतको गोठमा मङ्गलबार राति आगलागी हुँदा गोठ जलेर करिब रु दुई लाख बराबरको धनमाल नष्ट भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
तीनवटै घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। सम्बन्धित जिल्ला प्रहरी कार्यालयले आगलागीका कारणबारे थप अनुसन्धान गरिरहेको छ।
