माधव पौडेल
बर्दिबास, महोत्तरी
बर्दिबास नगरपालिकाको आर्थिक सहयोग तथा कर्मचारी मिलन केन्द्र, बर्दिबासको आयोजनामा सञ्चालन गरिएको तीन महिने निःशुल्क लोकसेवा आयोग परीक्षा तयारी कक्षाको औपचारिक समापन गरिएको छ ।
बुधबार बर्दिबास–१४ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालयको सभाहलमा आयोजित समापन कार्यक्रममा लोकसेवा आयोगको तयारी गरिरहेका युवायुवतीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । तीन महिनासम्म सञ्चालन भएको उक्त कक्षामा सहभागी विद्यार्थीहरूलाई लोकसेवा आयोगका विभिन्न तहका परीक्षाका लागि आवश्यक पाठ्यवस्तु, सामान्य अध्ययन, समसामयिक विषय, संविधान, प्रशासन, गणित, नेपाली, अंग्रेजी लगायतका विषयमा अनुभवी प्रशिक्षकहरूले प्रशिक्षण प्रदान गरेका थिए ।
समापन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै नगर प्रमुख प्रहलाद क्षेत्रीले सरकारी सेवामा प्रवेश गर्न इच्छुक युवाहरूका लागि यस्ता निःशुल्क तयारी कक्षा अत्यन्त प्रभावकारी हुने बताएका थिए । आर्थिक अभावका कारण महँगा कोचिङ कक्षा लिन नसक्ने विद्यार्थीहरूलाई नगरपालिकाको यस पहलले ठूलो सहयोग पुगेको उहाँको भनाइ थियो । नगरको पुर्वाधार विकास गरेर मात्र हुदैन मानविय विकास पनि एउटा खम्वा भएकोले नगरले यो कार्यक्रम संचालन गरेको नगर प्रमुखको भनाई रहेको छ । साविक किसाननगर गा.विस. १ र साविक माईस्थान गा.वि.स. ४ चेरुका नागरीकले मात्र प्रायजसो लोकसेवामा नाम निकाल्ने गरेका थिए ।

वर्दिबास नगरपालिकाले शिक्षा, सीप विकास तथा युवाको क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राख्दै सञ्चालन गरेको यो कार्यक्रमबाट नगरभित्रका दर्जनौँ युवाहरू प्रत्यक्ष लाभान्वित भएका छन् सहभागीहरूलाई नियमित कक्षा, अभ्यास परीक्षा , प्रश्नोत्तर तथा परामर्शमार्फत प्रतिस्पर्धात्मक परीक्षाका लागि आवश्यक तयारी गराइएको आपुले अनुगमनका क्रममा देखेको नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत राममणि अधिकारीले वताए । आफ्नो अनुभव शेयर गर्दै उनले अगाडि भने “एक दुई पटक अनुतिर्ण हुने वित्तीकै छोड्न हुदैन मैले पनि तेश्रो पटकमा उपसचिवमा नाम निकालेको हुँ “ ।
कार्यक्रम कर्मचारी मिलन केन्द्रका अध्यक्ष सुनिल शर्मा पौडेलको अध्यक्षतामा भएको थियो । अतिथिहरुमा वडा नंं. १४ का वडाअध्यक्ष विजय महतो, प्रशिक्षकहरु दिपेश काफ्ले, सागर भट्टराई, साकार भट्टराई लगाएत, कर्मचारी मिलन केन्द्रका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सहभागी विद्यार्थीहरूको उपस्थिति रहेको थियो । समापन समारोहमा प्रशिक्षक तथा सहभागीहरूलाई प्रशंसापत्र तथा प्रमाण प्रदान गर्दै आगामी दिनमा पनि यस्ता युवामैत्री कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिएको थियो । कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूले तीन महिनाको अवधिमा प्राप्त ज्ञान, अभ्यास र मार्गदर्शनले आफूहरूमा लोकसेवा आयोगको परीक्षाप्रति आत्मविश्वास बढाएको बताएका थिए । साथै निशुल्क भन्दा पनि सशुल्क कक्षा संचालन प्रभावकारी हुने उनिहरुको भनाई थियो । कार्यक्रम कर्मचारी मिलन केन्द्रका सदस्य पवन कार्किले संचालन गरेका थिए भने प्रेमा कार्किले स्वागत मन्तव्य राखेकि थिईन । वर्दिवास नगरभित्रका ७८ जना युवायुवतिले उक्त तयारी कक्षामा भाग लिएका थिए ।
