नगरस्तरीय खुला बिद्द्यालय स्तरीय नाटक प्रतियोगितामा सैनिक आवासीय प्रथम

[sharethis-inline-buttons]

माधव पौडेल
बर्दिबास, महोत्तरी

महोत्तरीको बर्दिबास नगरपालिकाको सहयोगमा पहिलो पटक आयोजित नगरस्तरीय खुला विद्यालय नाटक प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय लागुऔषध तथा अवैध तस्करी विरुद्ध दिवस–२०२६ को अवसरमा ‘सबैका लागि हामी’ संस्थाले प्रतियोगिता आयोजना गरेको हो।

विनाएक बैंक्वेट, बर्दिबासमा सम्पन्न प्रतियोगितामा नगरभित्रका १४ वटा सामुदायिक तथा संस्थागत विद्यालयको सहभागिता रहेको थियो। प्रत्येक विद्यालयले १० मिनेट अवधिको सामाजिक सन्देशमूलक नाटक प्रस्तुत गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीले विजेता टोलीलाई पुरस्कार वितरण गर्दै सिर्जनात्मक तथा सांस्कृतिक गतिविधिलाई नगरपालिकाले निरन्तर प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले कला, साहित्य र नाटकको संरक्षण तथा प्रवर्द्धनका लागि स्थानीय तहले योजनाबद्ध रूपमा काम गर्नुपर्ने धारणा राखे।

वरिष्ठ नाट्यकर्मी ओमप्रकाश कर्ण, रागिनी कर्ण र सबिर चुरौटे सम्मिलित निर्णायक मण्डलले उत्कृष्ट नाटक छनोट गरेको थियो। प्रतियोगितामा सैनिक आवासीय विद्यालय, बर्दिबास प्रथम, राष्ट्रिय नारायणी माध्यमिक विद्यालय, विजलपुरा द्वितीय तथा मोर्डन गुरुकुल, बर्दिबास तृतीय भएका छन्।

विजेता टोलीहरूले क्रमशः १२ हजार, ७ हजार र ४ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। उद्घोषक अनु खनालका अनुसार नगरप्रमुख क्षेत्रीले आफ्नो व्यक्तिगत तर्फबाट तीनै विजेता टोलीलाई थप ५–५ हजार रुपैयाँ पुरस्कार प्रदान गरेका छन्।

यसका साथै होटल रोयल सेन, पानस कटेज र गुन्ज होटलले पुरस्कृत टोलीलाई लञ्च वा डिनरको व्यवस्था गर्ने घोषणा गरेका छन्। प्रथम हुने सैनिक आवासीय विद्यालयलाई जनसेवा अस्पतालले थप ५ हजार रुपैयाँ नगद पुरस्कारका साथै एक वर्षसम्म निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने जनाएको छ।

कार्यक्रमका सभाध्यक्ष तथा ‘सबैका लागि हामी’ संस्थाका अध्यक्ष सुनिल साहले बर्दिबासलाई लागुऔषधमुक्त समाज निर्माण गर्ने उद्देश्यले यस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताए। उनले संस्थाले यसअघि बर्दिबासमा पहिलो पटक शैक्षिक मेला आयोजना गर्नुका साथै विभिन्न सामाजिक तथा परोपकारी गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...