माधव पौडेल
वर्दिबास
महोत्तरी जिल्लाको केहि स्थानिय तहमा वाल विवाह विरुद्धको अभियानले सार्थकता पाउदै गएको छ । स्थानिय सरकारको सक्रियता र गैर सरकारी संस्थाहरुको सहयोगले गर्दा यो अभियान अगाडि वढेको हो । जस्को ज्वलन्त उदाहरण वर्दिवास नगरपालिका रहेको छ । ‘बालविवाहको अन्त्य, समृद्ध समाजको गन्तव्य’ भन्ने मूल नाराका साथ बर्दिबास नगरपालिका–९ पशुपतिनगर बालविवाहमुक्त वडा घोषित भएको छ । वडाको वडा कार्यालय नजिक राष्ट्रिय मा.वि. वनरझुलला को परिसरमा आयोजित ‘घोषणा सभा–२०८३’ मा सामूहिक हस्ताक्षरसहित साझा प्रतिबद्धता पत्र सार्वजनिक गर्दै बालविवाहमुक्त वडा घोषणा गरिएको हो ।

१४ वटा वडा रहेको बर्दिबास नगरपालिकामा बालविवाहमुक्त घोषणा गर्ने वडाको सङ्ख्या योसमेत अब १३ पुगेको छ । शनिवार साँझसम्म चलेको घोषणा सभालाई सम्बोधन गर्दै नगरप्रमुख प्रहलाद क्षेत्रीले बालविवाहलाई कानुनी अपराध, सामाजिक अभिसाप र बालअधिकार हनन भएको व्याख्या गर्दै बर्दिबासलाई महोत्तरीकै पहिलो बालविवाहमुक्त नगरपालिका घोषणा गर्ने लक्ष्य रहेको बताउनुभयो ।
नगरप्रमुख क्षेत्रीले भन्नुभयो, ‘‘बालविवाह मुक्त भएको घोषणा गरेर मात्र पुग्दैन । आफ्ना सन्ततिको भविष्यका लागि बालविवाहविरुद्ध समाज र परिवार कठोर हुनैपर्छ ।’’ वालविवाह भएमा मेयर साव मलाई कानुनी कारवाहिवाट वचाईदिनुस् भनेर भन्न नआउन समेत मेयर क्षेत्रीले वडावासिलाई आग्रह गरे ।
उपप्रमुख तारादेवी महतोले समाजमा गहिरो जरा गाडेको बालविवाह उन्मूलन चुनौतीपूर्ण रहेको बताउनुभयो । यद्यपि, बर्दिबास–९ ले देखाएको सक्रियता र उपलब्धि अन्य वडाका लागि पनि प्रेरणादायी बनेको उहाँको भनाइ थियो । मेरो आफ्नो घर भएको वडा भएको हूदाँ यो वडामा हुने हरेक विकास र परीवर्तनले आफुलाई प्रत्यक्ष प्रभाव पार्ने महतोले वताईन ।

वडा नं ९ का वडाध्यक्ष घुरन महतोका अनुसार १०१२ घरधुरी रहेको वडामा आदीवासी, जनजाती, दलित लगायत बसोबास गर्ने यस वडामा दुई वर्षअघि गरिएको एक सर्वेअनुसार बालविाह दर उच्च थियो ।
सर्वेले वडाको अवस्था भयावह र चुनौतिपूर्ण देखाएपछि वडाध्यक्ष महतोकै नेतृत्वमा बालविवाहविरुद्ध सचेतीकरण अभियान सुरु भयो । वडाध्यक्षका अनुसार, ‘‘वडाका चार वटा टोल र चार वटा विद्यालयमा गठन भएका ‘वडा बाल समिति’ र बाल क्लवले गरेका सडक नाटक, घर–दैलो अभिमुखीकरण, कानूनी जानकारी र सामाजिक दबाबका कारण अभियान प्रभावकारी बन्दै गयो ।’’
अभियानलाई सेभ द चिल्ड्रेन, सामुदायिक विकाश पैरवी मञ्च जस्ता संघसंस्थाले साथ दिए । वडामा गठित ‘प्रभावशाली समिति’ को प्रभाव परिवार र समुदायमा पर्न थाल्यो । वडा प्रहरी, स्वास्थ्य चौकी, नागरिक समाज, आमा समूह पनि कार्यक्रममा जुट्दै गए ।
डेढ वर्षपछि वडा र अभियानकर्ता संघसंस्थाले दोश्रो सर्वे गर्दा बालविवाह दर झण्डै ९३.५ प्रतिसतमा झरेको देखाएपछि वडालाई बालविवाह मुक्त घोषणा गरिएको वडाध्यक्ष महतोले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘यो सफलता वडावासीका लागि विजय उत्सवसरह हो । बाँकी रहेको प्रतिशतलाई पनि शून्यमा झार्न अभियान जारी छ ।’’

नगरपालिका महिला शाखा प्रमुख सुष्मा थापाका अनुसार बालविवाहमुक्त घोषणा गर्न निर्धारित १३ वटा सूचकमा ९० प्रतिशतभन्दा बढी अंक हासिल हुनुपर्छ । पछिल्लो सर्वेक्षणले बर्दीबास–९ ले सबै मापदण्ड पूरा गरेको देखाएपछि ‘बालविवाहमुक्त वडा’ घोषणा गरिएको हो ।
घोषणा सभामा प्रमुख प्रशासकीय अधिकृत राममणी अधिकारीले बालविवाह उन्मूलनलाई नगरपालिकाले नीतिगत रूपमा अघि बढाएको बताउदै यसलाई सफल बनाउन समाजका सबै क्षेत्रलाई सहयोग र सहकायका लागि आग्रह गर्नुभयो ।
सामुदायिक विकास पैरवी मञ्चका उपाध्यक्ष सोमबहादुर कार्कीले २० वर्षभन्दा कम उमेरमा विवाह गर्न नपाइने कानुनी व्यवस्था अन्तर्राष्ट्रिय प्रतिवद्धतासमेत रहेको स्मरण गराउँदै नगरका बाँकी १ वडालाई पनि बालविवाहमुक्त बनाउन निरन्तर सहकार्यमा रहने बताउनुभयो ।






