कांग्रेस–एमाले सहकार्य अझै कायम रहनेमा कांग्रेस सभापती गगन थापाको जोड

[sharethis-inline-buttons]

आज्ञा खबर

कैलाली

नेपाली कांग्रेसका सभापती गगन कुमार थापाले वर्तमान राजनीतिक अवस्थालाई मध्यनजर गर्दै तत्काल कांग्रेस–एमाले सत्ता सहकार्य टुट्ने सम्भावना नरहेको बताएका छन्। कैलालीको धनगढीमा ‘जरा अभियान’ अन्तर्गत आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेको अवस्थामा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाहेक स्थिर सरकार निर्माण गर्न सक्ने अर्को स्पष्ट विकल्प नदेखिएको धारणा राखे।

थापाले केन्द्रदेखि प्रदेश तहसम्म राजनीतिक संवाद निरन्तर भइरहेको जानकारी दिँदै नीति तथा कार्यक्रम र आगामी बजेटबारे दलहरूबीच छलफल जारी रहेको उल्लेख गरे। प्रदेश सरकारहरूलाई प्रभावकारी र उत्तरदायी बनाउँदै लैजानुपर्नेमा उनले विशेष जोड दिएका थिए।

मधेश प्रदेशको राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै उनले विभिन्न दलहरूसँग सहकार्य र संवाद भइरहेको बताए। कांग्रेसभित्रको आन्तरिक कमजोरी स्वीकार गर्दै उनले कार्यकर्तालाई निराश मानसिकताबाट बाहिर निस्कन आग्रह गरे। पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गर्ने नेता–कार्यकर्तामाथि संगठनात्मक कारबाही हुन सक्ने चेतावनी पनि उनले दिए।

उनका अनुसार पछिल्लो निर्वाचनमा ठूलो संख्यामा कांग्रेस समर्थक मतदाताले पार्टीप्रति अपेक्षित समर्थन नदिएको देखिएको छ। तर त्यसलाई अन्तिम हारका रूपमा नलिएर संगठन पुनः सुदृढ गर्ने अवसरका रूपमा लिनुपर्ने उनले बताए। “जिम्मेवारीबाट पन्छिने होइन, अझ सक्रिय भएर जनतामाझ जानुपर्ने समय हो,” थापाको भनाइ थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति संकेत गर्दै उनले नयाँ राजनीतिक शक्तिलाई जनताले अवसर दिएको उल्लेख गरे। कांग्रेसले प्रतिपक्षको भूमिकालाई अझ प्रभावकारी बनाउँदै लोकतान्त्रिक मूल्यको संरक्षणमा सक्रिय रहने उनको भनाइ थियो।

सुशासन र लोकतन्त्रबारे बोल्दै थापाले सरकारले गरेका सकारात्मक काममा समर्थन रहने तर राज्यसत्ता प्रयोग गरेर लोकतान्त्रिक अभ्यासलाई कमजोर पार्ने प्रयास भए कांग्रेस दृढ रूपमा उभिने चेतावनी दिए।

भूमिहीन र सुकुम्बासी समस्याबारे पनि उनले सरकारलाई संवेदनशील बन्न आग्रह गरे। विकासका नाममा मानव संवेदनालाई बेवास्ता गरेर जबर्जस्ती संरचना हटाउने काम उपयुक्त नहुने उनको भनाइ थियो।

कार्यक्रमका क्रममा उनले शेरबहादुर देउवासहित कांग्रेसका पूर्व नेतृत्वको योगदानको प्रशंसा गर्दै पार्टीलाई एकताबद्ध बनाउने प्रयास जारी रहेको बताए। देउवाको स्वास्थ्यप्रति शुभकामना व्यक्त गर्दै पछिल्लो समय आपसी संवाद कम भएको पनि उनले स्वीकार गरे।

थापाले अघिल्लो चुनावअघि बनेको गठबन्धनबारे आफूले फरक धारणा राखेको स्मरण गर्दै पार्टीभित्र सामूहिक छलफल र समन्वयलाई आगामी रणनीतिको आधार बनाइने बताए।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...