आज्ञा खबर
सिन्धुली
लामो समयदेखि फरार रहेको ज्यानसम्बन्धी मुद्दाका अभियुक्तलाई प्रहरीले पक्राउ गरेर कानूनको शासन कायम राखेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले विशेष सूचनाको आधारमा साविक तिनकन्या गाउँपालिका वडा नं. ३, हालको गोलन्जोर गाउँपालिका वडा नं. ४ बस्ने ६८ वर्षीय भिम बहादुर आले मगरलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार, बुधबार विहान करिब ११ः३० बजे विशेष निगरानीमा रहेका आलेलाई घर नजिकैको बारीमा लुकेर बसेको अवस्थामा पत्ता लगाएर पक्राउ गरिएको हो। दिउँसो ५ः०५ बजे प्रहरीले उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय खुर्कोटमा राखी कारबाही अघि बढाएको छ।
सिन्धुली जिल्ला अदालतले २०७९ साल माघ १२ गते आलेलाई ज्यानसम्बन्धी कसुरमा दोषी ठहर गर्दै १ महिना ८ दिन कैद सजाय तोकेको थियो। तर फैसला कार्यान्वयन हुनुअघि नै उनले फरार हुने प्रयास गरेका थिए। प्रहरीले लगातारको खोजी र निगरानी पछि उनलाई पक्राउ गर्न सफल भएको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुबेदीले भने, “अदालतको आदेश कार्यान्वयन नगरी फरार बसिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लियौं। अब अदालतमा पेश भएसँगै फैसला कार्यान्वयन हुनेछ।”





































