आज्ञा खबर
सिन्धुली
सिन्धुलीको गोलाञ्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरी गाउँ एकाएक चर्चामा छ । कारण हो— एउटै परिवारका १६ जना सदस्य रहस्यमय ढंगले सम्पर्कविहीन हुनु। उर्मिला हायुको परिवारका सबै सदस्य घर छाडेर कुन दिशातिर गएका छन् भन्ने खुल्न सकेको छैन। घरमा चौपाया, भान्सा र खोर यथास्थानमै छन्— मानौँ मानिसहरू अचानक तवान्तरीक भइ हराएका हुन्।
वडाध्यक्ष रविन श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिंदै भनेका छन्, “उर्मिला हायुसहित १६ जना सदस्य सम्पर्कविहीन छन्। घरमा बाख्रा, कुखुरा, भैँसी सबै अलपत्र छन्, ढोका खुल्लै छ, तर मानिस कोही छैनन्।”
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट टोली घटनास्थल पुगेको छ। प्रारम्भिक अवलोकनमा घरको मूल ढोका खुला अवस्थामा भेटिएको र गोठमा चौपाया थुनिएको अवस्था देखिएको एसपी लालध्वज सुवेदीले बताए। भान्सा बनाइएको टहरो भत्किएको देखिए पनि अन्यत्र कुनै हिंसात्मक संकेत भेटिएको छैन।
‘बिहीबार सुँगुर काटेर खाएका थिए’
प्रहरी अनुसन्धानका अनुसार, परिवारले सम्पर्कविहीन हुनु अगावैको बिहीबार साँझ सुँगुर काटेर सामूहिक रूपमा भोज खाएको खुलेको छ। त्यही दिन स्थानीय तहबाट लोपोन्मुख जातिमा सूचीकृत हायु समुदायका सदस्यले जनही १२ हजार रुपैयाँका दरले भत्तासमेत पाएका थिए।
अब अनुसन्धानको एउटा कोण यस्तो पनि छ– के त्यो रकम पाउने वित्तिकै परिवारले योजनाबद्ध रूपमा कहीँ घुम्न गएका हुन्रु वा यसमा केही गहिरो रहस्य लुकेको छरु प्रहरीसमेत अहिलेसम्म कुनै ठोस निष्कर्षमा पुग्न सकेको छैन।
बेपत्ताको कारण रहस्यकै गर्भमा
स्थानीय बासिन्दा र प्रहरी दुवैको लागि यो घटना अचम्म र असामान्य लागिरहेको छ। कुनै आपराधिक गतिविधिको संकेत नभए पनि सबै सदस्य एकैचोटि घर छाड्नु र कोहीसँग पनि सम्पर्कमा नआउनु स्थानीय समुदायका लागि अनौठो बनिरहेको छ।
“कोही छरछिमेक वा आफन्तसँग पनि सम्पर्कमा छैनन्। कतै घुम्न गएका हुन् कि भनेर सोचेका थियौँ, तर यति दिनसम्म सम्पर्क नहुनु सामान्य होइन,” स्थानीयवासी एकजनाले भने।
प्रहरीले अहिले खोजतलासलाई तीव्र बनाएको छ। गाउँपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीय मिलेर परिवारको अवस्थाबारे थप जानकारी संकलन गर्ने प्रयास गरिरहेका छन्।
सम्बन्धित निकायलाई खबर गर्न आग्रह
वडाध्यक्ष श्रेष्ठले परिवारका सदस्य कोही कसैसँग सम्पर्कमा पुगेमा तुरुन्तै प्रहरी वा स्थानीय निकायलाई खबर गर्न आग्रह गरेका छन्। “कुनै दुर्घटना नहोस् भन्ने आशंका पनि छ, त्यसैले खोजीमा ढिलाइ गर्नु हुँदैन,” उनले भने।





































