आज्ञा खबर
सिन्धुली
सिन्धुलीको दुधौली नगरपालिका–२ स्थित मधुगंगा महादेव मन्दिर परिसर सोमबार दिउँसो अकस्मात् गोली प्रहारको घटनाले स्तब्ध भयो। घटनामा एकजनाको ज्यान गएको आशंका गरिएको छ।
प्राप्त प्रारम्भिक विवरणअनुसार, दिउँसो करिब १२ बजेतिर मन्दिर परिसरमा भारतीय नागरिकहरुको एउटा समूहबीच विवाद भएको थियो। विवादकै क्रममा आफ्नै साथीमाथि गोली प्रहार गरिएको सूचना जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पुष्टि गरेको छ। घटनामा संलग्न रहेको आशंकामा ४ देखि ५ जनाको समूहको खोजी भइरहेको बताइएको छ।
गोली चलेको आवाज सुनिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। तत्पश्चात् जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीको नेतृत्वमा प्रहरी टोली र इलाका प्रहरी कार्यालय डकाहाबाट पनि टोली घटनास्थल पुगेको डिएसपी सूर्य प्रकाश सुवेदीले जानकारी दिए।
दुधौली नगरपालिका–२ का वडाध्यक्ष रितेश राउतका अनुसार, घटनास्थलमा चक्कुजस्ता धारिलो हतियार समेत फेला परेको छ। गोली लागेका व्यक्तिको परिचय हालसम्म खुल्न सकेको छैन। तर, स्थानीयले उनलाई घटनास्थलमै मृत अवस्थामा देखिएको बताएका छन्।
प्रहरीले घटनास्थल घेराबन्दी गरी अनुसन्धान तीव्र बनाएको छ भने घटनाको विस्तृत विवरण संकलन भइरहेको जानकारी दिइएको छ।





































