सिरहामा ठूलो परिमाणमा गाँजा बरामद, घरधनी फरार

[sharethis-inline-buttons]

आज्ञा खबर

सिरहा

सिरहा जिल्लाको सुखीपुर नगरपालिका–४ स्थित पोखरिया गाउँमा प्रहरीले ठूलो परिमाणमा लुकाइएको गाँजा बरामद गरेको छ।

शुक्रबार बिहान ६ बजे, विशेष सूचनाका आधारमा गरिएको प्रहरी छापामारीका क्रममा ६० वर्षीय मेदी यादवको घरबाट ७१७.६ किलोग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

जिल्ला प्रहरी, सशस्त्र प्रहरी बेस क्याम्प सुखीपुर र प्रहरी चौकी सिलौर्वापछवारीबाट खटिएको संयुक्त टोलीले यादवको घरमा छापा मारेको थियो। बरामद गरिएको गाँजा घरभित्र विभिन्न स्थानमा लुकाइराखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनापछि घरधनी मेदी यादव फरार रहेका छन्। उनी नै गाँजा तस्करीमा संलग्न रहेको आशंका प्रहरीको छ। हाल यादवको खोजी कार्य र घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी बिरेन्द्र पासवानले जानकारी दिए।

प्रहरीले घटनास्थलबाट को.१३प २१५२ नम्बरको होण्डा मोटरसाइकल पनि बरामद गरेको छ।

प्रहरीका अनुसार यो बरामदगी हालसम्म सिरहा जिल्लामा फेला परेको लागूऔषधमध्ये एक ठूलो परिमाण हो। जिल्लामा पछिल्लो समय लागूऔषध तस्करी बढेको देखिएसँगै सुरक्षा निकायले निगरानी र नियन्त्रणलाई थप सशक्त बनाएको जनाएको छ।


  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...