उपभोक्ता अदालतको फैसलाविरुद्ध चिकित्सक आन्दोलित, आकस्मिकबाहेक सेवा ठप्प

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
नेपाल चिकित्सक संघको आह्वानमा देशभरका चिकित्सक उपभोक्ता अदालतको पछिल्लो फैसलाविरुद्ध आन्दोलनमा उत्रिएका छन्। सोमबारदेखि सुरु भएको आन्दोलनअन्तर्गत मङ्गलबार चिकित्सकहरूले आकस्मिक तथा सघन उपचारबाहेकका सबै सेवा बन्द गरेका छन्।

फैसलाले नेपाल मेडिकल काउन्सिलको अधिकारक्षेत्रमाथि हस्तक्षेप गरेको भन्दै चिकित्सकहरू आक्रोशित बनेका छन्। उनीहरूका अनुसार यस्तो निर्णयले स्वास्थ्यकर्मीहरूलाई हतोत्साहित गर्ने मात्र होइन, चिकित्सा पेशामै असुरक्षा बढाउने खतरा छ।

मङ्गलबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनसहित आक्रोश पोखेका चिकित्सकहरूको आन्दोलनले मुलुकभरका अस्पतालहरू प्रभावित भएका छन्। बर्दिवास नगर क्षेत्रका निजी तथा सरकारी अस्पतालमा समेत आकस्मिकबाहेक सबै सेवा ठप्प हुँदा उपचारका लागि आएका बिरामीहरू सेवा नपाएर फर्किन बाध्य भएका छन्।

नेपाल चिकित्सक संघले आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिँदै सरकारसँग तत्काल हस्तक्षेपको माग गरेको छ। संघका पदाधिकारीहरूको भनाइमा, ‘व्यावसायिक स्वतन्त्रता र चिकित्सकीय निर्णयको स्वतन्त्रतालाई अदालतको फैसलाले चुनौती दिएको छ, जुन स्वीकार्य छैन।’

स्वास्थ्य मन्त्रालय, कानुन मन्त्रालय र सम्बन्धित पक्षसँग वार्ता प्रयास भइरहेको जनाइएको छ। तर, सहमति नभएसम्म सेवा ठप्प गर्ने रणनीति चिकित्सकहरूले लिएका छन्।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...