अज्ञा खबर
जनकपुरधाम
नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सत्तारूढ जनमत पार्टीका नेता सतिशकुमार सिंहको नेतृत्वमा रहेको सरकारलाई असहयोगको घोषणा गर्दै नाउपाले अब प्रतिपक्षको भूमिकामा बस्ने निर्णय गरेको हो।
प्रदेशसभामा पार्टीका एकमात्र समानुपातिक सांसद उर्मिला देवी सिंहले मंगलबारको बैठकमा सरकारसँगको सम्बन्ध समाप्त भएको औपचारिक जानकारी दिइन्। उनले मधेश सरकारले प्रस्तुत गरेको बजेटलाई “बिचौलियामुखी” भन्दै कडा आलोचना गरिन्।
“यो बजेट जनताको हितमा होइन, केही सीमित लाभग्राहीका पक्षमा ढल्किएको छ,” सिंहले भनिन्, “यसको प्रमाण पनि मसँग सुरक्षित छ।”
उनले बजेट पुनर्लेखनको माग गर्दै आइरहेको नाउपाको आवाजलाई बेवास्ता गरिएको गुनासोसमेत गरिन्।
यसैबीच, नाउपाले संघीय सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने अन्तिम तयारी गरेको जनाएको छ। पार्टी स्रोतका अनुसार, सत्तामा सहभागी भएर जनताका पक्षमा काम गर्ने आशा राखिए पनि, व्यावहारिकरूपमा त्यो सम्भव नभएपछि समर्थन फिर्ताको निचोड निकालिएको हो।
यस निर्णयले प्रदेश र संघ दुबै तहको सत्ता समीकरणमा केही हदसम्म तरंग ल्याउने अनुमान गरिएको छ।
