आज्ञा खबर
भक्तपुर
पूर्वसभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाउँदै एक समय चर्चामा आएकी रोशनी शाही मृत अवस्थामा फेला परेकी छन्।
शाही भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्दै आएकी थिइन्। उनी आफ्नो डेराको कोठाभित्रै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए।
प्रहरीका अनुसार शाहीका श्रीमान् विराटनगरमा रहेका छन् र उनलाई खबर गरेर काठमाडौं बोलाइएको छ। मृत्युको कारण खुल्न बाँकी रहेकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
शाही केही वर्षअघि तत्कालीन सभामुख महरामाथि बलात्कारको गम्भीर आरोप लगाएर सार्वजनिक चासोको केन्द्रमा आएकी थिइन्। सो प्रकरणपछि उनी लामो समय सार्वजनिक रूपमा देखिएकी थिइनन्।





































