उदयपुरमा यौन शोषणमा संलग्न १३ जनाविरुद्ध मानव बेचबिखनको मुद्दा

[sharethis-inline-buttons]

आज्ञा खबर
उदयपुर
उदयपुरमा यौन शोषण र वेश्यावृत्तिमा संलग्न रहेको अभियोगमा १३ जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगीका अनुसार घटनामा संलग्न अभियुक्तहरूलाई अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत उदयपुरमा मुद्दा दर्ता गरिएको हो।

गत वैशाख १६ गते दुई जना जाहेरवालाहरू (सांकेतिक नामः गाईघाट ८४ (क) र ८५ (ख)) ले आफ्ना नाबालिका छोरीहरू (क्रमशः १३ र १५ वर्ष) हराएको उजुरी दिएपछि अनुसन्धान अगाडि बढाइएको थियो। अनुसन्धानका क्रममा ती बालिकाहरू कानुनी संरक्षणमा रहेका अर्का दुई नाबालकहरूसँग झापा कन्काई नगरपालिका–४ स्थायी घर भई हाल त्रियुगा नगरपालिका–११, पिपलचोकमा डेरा गरी बस्दै आएका २० वर्षीय विक्रम तामाङ उर्फ विक्रम रणपहेली (दर्जी), १९ वर्षीया पूर्णिमा राई, तथा सप्तरी हनुमाननगर कंकाली नगरपालिका–४ का २५ वर्षीय कुन्दन दाससँग भेटिएका थिए।

प्रहरीका अनुसार, ती बालिकाहरूलाई त्रियुगा–११ स्थित भ्यु प्वाइन्ट होटल र मकालु होटलमा लगेर अपरिचित पुरुषहरूसँग जबरजस्ती यौन क्रियाकलापमा संलग्न गराइएको थियो। सोही आरोपमा होटल सञ्चालकहरू समेत पक्राउ परेका छन्।

मुद्दामा संलग्न अन्य अभियुक्तहरूमा मकालु होटलका सञ्चालक ३८ वर्षीय ललित भण्डारी, भ्यु प्वाइन्ट होटलकी सञ्चालिका २९ वर्षीय सम्झना मगर, साथै अन्य तीन बालक र पाँच बालिका समेत छन्।

पक्राउ परेकाहरू सबैलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण तथा निवारण) ऐन, २०६४ अन्तर्गत अनुसन्धानपश्चात मंगलबार (जेठ ७ गते) मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...