सामाजिक सेवामा सधैं टल्किरहेका बर्दिवासका हिरा

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
सधैं मुस्कानसहित समाज सेवामा अग्रसर, संस्कृतिको जगेर्ना, पर्यटन प्रवद्र्धन र उद्यमशीलतामा समर्पित एक प्रेरणादायी नाम हो— हिरा गौतम। नाम जस्तै चम्किलो कर्मका धनी गौतम न केवल बर्दिवास र धनुषाको लालगढमा सञ्चालनमा रहेका गौतम होटलका सफल व्यवसायी हुन्, उनी मधेश प्रदेशको पर्यटन क्षेत्रको एक प्रभावशाली नेतृत्वकर्ता पनि हुन्।

गौतमले व्यवसायिक सफलतालाई मात्र ध्येय नठानी सामाजिक उत्तरदायित्वलाई समेटेर अगाडि बढ्नुपर्ने मान्यता राख्दै आएका छन्। समाज, संस्कृति, शिक्षा, पर्यटन, महिला सशक्तिकरणदेखि विपद् व्यवस्थापनसम्मका दर्जनौं क्षेत्रमा सक्रिय गौतम बर्दिवास नगरकै लागि प्रेरणाका स्रोत हुन्।

२३ वर्षअघि महोत्तरीको बर्दिवासमा एउटा सानो छाप्रोबाट होटल व्यवसाय सुरु गरेका हिरा गौतमले अहिले गौतम होटललाई बर्दिवासकै सुविधा सम्पन्न र परिचित होटल बनाइसकेका छन्। व्यवसायको परिपक्वताको प्रतीकस्वरूप दुई वर्षअघि मात्रै उनले धनुषाको लालगढमा सुविधा सम्पन्न चारतारे होटलसमेत सञ्चालनमा ल्याएका छन्।

गौतमका होटलहरू अब केवल खानपान र आवासका केन्द्र मात्र होइनन्, सांस्कृतिक, सामाजिक कार्यक्रमको आयोजनाका लागि समेत उपयुक्त स्थल बनेका छन्। उनको दृष्टिकोणमा व्यवसाय केवल नाफा कमाउने माध्यम मात्रै होइन, समुदायसँग जोडिने, समाजलाई सेवा दिने पुलपनि हो।

“व्यवसायको माध्यमबाट समाजमा योगदान दिन सकियो भने त्यो नै साँचो सफलता हो,” गौतम भन्छन्।

हिरा गौतम अहिले नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ, मधेश प्रदेशका अध्यक्षको रूपमा क्रियाशील छन्। यस भूमिकामा रहँदै उनले मधेश प्रदेशको पर्यटन सम्भावनालाई उजागर गर्ने, लगानी प्रवद्र्धन गर्ने र पर्यटनमैत्री नीति निर्माणका लागि निरन्तर पहल गरिरहेका छन्।

त्यस्तै, उनी बर्दिवास नगरपालिकाको संस्कृति तथा पर्यटन प्रवद्र्धन समितिका अध्यक्षसमेत हुन्। यस भूमिकामा उनले बर्दिवासका सांस्कृतिक सम्पदा, परम्परा र मौलिकतालाई प्रवद्र्धन गर्न विभिन्न कार्यक्रमको योजना बनाएर समन्वय गर्दै आएका छन्।

उद्योग वाणिज्य संघ, बर्दिवासका अग्रज सदस्य तथा सल्लाहकार, बर्दिवास सेवा समितिका अध्यक्ष र हाम्रो माया घर,बर्दिवास,राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान मधेश प्रदेशको सल्लाहकारका रूपमा समेत सक्रिय गौतमले बिगत देखी हाल सम्म एक दर्जन भन्दा बढी बिभिन्न समाजिक संघ संस्थामा आबद्ध रहेर सेवा दिईरहेका छन्।

गौतमको सामाजिक योगदान राहत, सहयोग र समन्वयमा मात्र सीमित छैन। उनी बालबालिका, महिला, वृद्धवृद्धा तथा विपन्न समुदायका लागि वर्षौंदेखि काम गर्दै आएका छन्। विपद् व्यवस्थापनका क्रममा उनले व्यक्तिगत रूपमा मात्र नभई संस्थागत रुपमा पनि उल्लेखनीय सहयोग पु¥याएका छन्।

उनको नेतृत्वमा बर्दिवासमा निःशुल्क स्वास्थ्य शिविर, स्वास्थय संस्थालाई आवश्यक उपकरण प्रदान,रक्तदान कार्यक्रम, सरसफाइ अभियान, वृक्षारोपण लगायतका सामाजिक गतिविधिहरू सञ्चालन हुँदै आएका छन्। त्यस्तै, उनले स्थानिय विद्यालयहरूसँग सहकार्य गर्दै शैक्षिक सामग्री वितरण, पोशाक सहयोग, छात्रवृत्ति कार्यक्रममार्फत विद्यार्थीको क्षमता अभिवृद्धिमा योगदान पु¥याउँदै आएका छन्।

उनको विश्वास छ— “युवालाई सशक्त बनाउन सकियो भने समाज बलियो बन्छ।” यही सोचका साथ उनले युवा प्रेरणा कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्, जसले युवाहरूमा नेतृत्व र समाजप्रति जिम्मेवारीको भावना विकास गरिरहेको छ।

पर्यटन प्रवद्र्धनको सन्दर्भमा हिरा गौतमको दृष्टिकोण स्पष्ट छ। मधेश प्रदेशका आठवटै जिल्लामा रहेका पर्यटकीय सम्भावनाहरूको पहिचान र प्रवद्र्धनमा उनले गहिरो चासो दिएका छन्।

“मधेशको संस्कार, खानपान, लोककला, वन क्षेत्र र धार्मिक स्थललाई प्रवद्र्धन गर्न सके यहाँको पर्यटनको रूप नै फेरिन्छ,” उनी भन्छन्। उनले “एक नगर एक विशेषता” भन्ने अवधारणा अघि सारेका छन्। यस अवधारणामार्फत उनले मधेशका हरेक नगरको मौलिकता झल्काउने पर्यटन प्याकेजहरू निर्माण गर्ने प्रयास गरिरहेका छन्।

पारिवारिक जीवनमा पनि संयमित र अनुशासित जीवनशैली अपनाएका गौतमका लागि प्रेरणा भनेको उनी जन्मे हुर्केको समाज हो। समाजका हरेक तहमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले अघि बढिरहेका गौतम भन्छन्, “जब तपाईंले अरूको मुहारमा मुस्कान ल्याउनुहुन्छ, त्योभन्दा ठूलो पुरस्कार केही हुँदैन।”

बर्दिवास जस्तो तीव्र शहरीकरणको दिशामा अघि बढिरहेको नगरमा हिरा गौतमजस्ता नेतृत्वदायी व्यक्तित्वले समृद्धि र मानवीयताको सन्तुलन कसरी कायम गर्न सकिन्छ भन्ने स्पष्ट उदाहरण प्रस्तुत गरेका छन्।

उद्यमशीलता, नेतृत्व, सेवा र संवेदनशीलताको संगम नै हुन — हिरा गौतम। उनको यो प्रयासले न केवल बर्दिवासको पहिचान बदलिरहेको छ, बरु सम्पूर्ण मधेश प्रदेशको पर्यटन, संस्कार र समाजसेवाको नयाँ सम्भावना उजागर गरिरहेको छ। उनी साँच्चै नै बर्दिवासको सामाजिक सेवामा सधैं चम्किरहने एक हिरा हुन्।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...