आज्ञा खबर
सिन्धुली
सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–४ ले वडामा रहेका विपन्न दलित परिवारहरूको जीवनशैली सहज बनाउन निःशुल्क पानीट्याङ्की वितरण गरेको छ। वडामा रहेका १४ दलित परिवारलाई एक हजार लिटर क्षमताको ट्याङ्की वितरण गरिएको वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालले जानकारी दिए।
चालु आर्थिक वर्ष २०८१÷८२ मा दलित समुदाय लक्षित कार्यक्रम अन्तर्गत विनियोजित दुई लाख रुपैयाँको बजेटबाट उक्त ट्याङ्की वितरण गरिएको हो। अध्यक्ष ढकालका अनुसार पानी जीवनको आधार भएकाले यसलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाइएको हो।
“पानीको आवश्यकता मानिस मात्र होइन, पशुपन्छीदेखि सम्पूर्ण जीवजन्तुका लागि अनिवार्य हुन्छ,” उनले भने, “त्यसैले यस्तो किसिमका कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पार्छ।”
पानीट्याङ्कीको सुविधा पाएपछि लाभग्राहीहरूले दैनिक जीवनमा सहजता आउने प्रतिक्रिया दिएका छन्। उनीहरूले पानी जम्मा गरेर केही दिनसम्म घरायसी कार्यहरू सहजै गर्न सक्ने बताएका छन्। वडा कार्यालयले वितरण गरिएको ट्याङ्कीको सदुपयोग भइरहेको छ वा छैन भन्ने विषयमा चाँडै अनुगमन गर्ने बताइएको छ।





































