आज्ञा खबर
सिन्धुली
सिन्धुली जिल्लाको तिनपाटन गाउँपालिका–२ स्थित भिमस्थानमा विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।
स्थानिय गैरिसंखर बोर्डिङ स्कुलको ना १ झ ६३०२ नम्बरको भ्यान अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीले जानकारी दिए।
एसपी सुवेदीका अनुसार दुर्घटनामा घाइते भएका १७ जना मध्ये ६ जनाको अवस्था मध्यम रहेको छ भने बाँकीलाई सामान्य चोटपटक मात्र लागेका छन्। घाइतेहरूमध्ये केहीलाई उपचारका लागि प्रदेशिक अस्पताल सिन्धुली लगिएको बताइएको छ।
दुर्घटनाको समयमा भ्यानमा २५ जना सवार थिए। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार भ्यान आफै अनियन्त्रित भएर दुर्घटना भएको हो।
सो घटनाबारे प्रहरीले थप अनुसन्धान गरीरहेको जनाएको छ।





































