आज्ञा खबर
सिन्धुली
सिन्धुलीकोदुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी दनुवारमाथि एक किशोरीले बलात्कारको गम्भीर आरोप लगाएपछि जिल्ला अदालत सिन्धुलीले उनिविरुद्ध दुई हप्ताअघि पक्राउ पुर्जी जारी गरेको छ । तर हालसम्म पनि प्रहरी उनलाई पक्राउ गर्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीका अनुसार मेयर अधिकारी फरार रहेका छन् र घटनासम्बन्धी अनुसन्धान सुसूक्ष्म रूपमा अगाडि बढाइएको छ । “हिजोमात्रै यहाँ हाजिर भएको छु, घटनाबारे जानकारी लिइरहेको छु,“ सुवेदीले भने,“पक्राउ पुर्जी जारी भइसकेको छ, मेयर फरार छन्, विभिन्न सम्भावित स्थानमा खोजी भइरहेको छ ।“
पीडित १८ वर्षीया किशोरीले बैशाख ११ गते मेयर अधिकारीविरुद्ध प्रहरीमा जाहेरी दिएकी हुन् । जाहेरी अनुसार, आफू १७ वर्षको हुँदा बिरामी दाजुको उपचार गराइदिने प्रलोभन देखाएर मदिरा सेवन गराई मेयर दनुवारले जबरजस्ती करणी गरेको आरोप लगाएकी छिन् । घटना दुधौलीकै एक क्याफे संलग्न गेस्ट हाउसमा भएको उल्लेख छ । मेयर दनुवारको बलत्कारबाट किशोरीले हालसालै शिशुलाई जन्मसमेत दिएकी छिन् ।
प्रहरी स्रोतका अनुसार जाहेरीपछि प्रारम्भिक अनुसन्धान सुरू गरिएको थियो । प्रमाणका आधारमा अदालतबाट पक्राउ अनुमति लिई दनुवारको खोजी कार्य तीव्र बनाइएको प्रहरी श्रोतको दाबी छ । यद्यपि, अहिलेसम्म मेयर अधिकारीको ठेगाना वा सम्भावित सम्पर्क ठाँउ पत्ता लाग्न सकेको छैन ।
पीडित पक्षले दोषीलाई कानूनको दायरामा ल्याउन माग गर्दै दबाब दिँदै आएका छन् । उनीहरूले मेयरले पदको आडमा उम्किन खोजेको आरोप लगाउँदै प्रहरी प्रशासनसँग सक्रियताको माग गरेका छन् ।
हालसम्म मेयर अधिकारी वा नगरपालिकाको तर्फबाट घटनाबारे कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरिएको छैन । यता प्रहरीले भने अनुसन्धानलाई गम्भीरताका साथ अगाडि बढाइरहेको जनाएको छ । “कसैलाई उम्कन दिइने छैन, कानूनअनुसार कारबाही अगाडि बढ्छ,“ एसपी सुवेदीले बताएका छन् ।
मेयर अधिकारी २०७९ सालको स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को तर्फबाट मेयरमा निर्वाचित भएका थिए ।





































