आज्ञा खबर
काठमांडौँ
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते छुट खोप लगाईदै छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई वैशाख ३१ गते आफ्नो नजिकैको स्वास्थ्य संस्थामा लगेर खोप लगाउन सम्पुर्ण अभिभावकलाई अनुरोध गरेको हो ।
हरेक वर्ष वैशाख महिनाको दोस्रो हप्ता (अप्रिल महिनाको अन्तिम हप्तालाई) विश्वभर खोप सप्ताहको रुपमा मनाइन्छ । तर नेपालमा वैशाख महिनालाई नै खोप महिनाको रुपमा मनाउने गरिन्छ । मन्त्रलयले खोप महिनालाई सफल बनाउन तथा आवश्यक सहजीकरण गर्न सबै जन प्रतिनिधि, महिला,सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, पत्रकार, समाजसेवी र अन्य सरोकारवालाहरुलाई समेत अनुरोध गरेको छ ।
सरकारले बालबालिकालाई १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सबै खोपको पूर्णमात्रा पाएको सुनिश्चत गरी देशभरका सबै जिल्लालाई पूर्णखोप घोषणा गर्न प्रयासरत रहेको जनाएको छ । नियमित खोप कार्यक्रम मार्फत खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिका छन् कि छैनन् भनेर गाउँ टोलमा गएर सोध खोज गर्ने र छुट भएका बालबालिकालाई खोप लगाउने व्यवस्था समेत मन्त्रालयले गरेको बताईएको छ ।
सरकारले बालबालिकाका लागि १३ प्रकारका रोगविरूद्धको खोप, गर्भवती महिलाका लागि दुई वटा रोगविरूद्धको खोप र किशोरीका लागि पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप निःशुल्क प्रदान गर्दै आएको छ ।
चिकित्सकका अनुसार खोपले बाल मृत्युदर घटाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाएर गभ्मीर रोग लाग्नबाट बचाउनुका साथै स्वास्थ्य र पोषण अवस्थालाई राम्रो बनाउने गर्छ ।





































